जनकपुरधाम- धनुषाधाम नगरपालिकामा कार्यरत एक सहायक कर्मचारीले नगरप्रमुखबाट आफूमाथि दुर्व्यवहार भएको आरोप लगाउँदै औपचारिक रूपमा उजुरी दर्ता गराएका छन् ।
घटनाले स्थानीय तहभित्रको कार्य वातावरण र अनुशासनमाथि गम्भीर प्रश्न उठाएको छ ।



नगरपालिकाको आर्थिक प्रशासन शाखामा कार्यरत सहायक स्तरका कर्मचारी सुरेश कुमार मण्डलले प्रमुख जिल्ला अधिकारीसमक्ष दिएको निवेदनमा कार्यालयमै आफूलाई अपमानजनक व्यवहार, गालीगलौज तथा हातपातको प्रयास गरिएको उल्लेख गरेका छन् ।
उनका अनुसार नियमित कामकाजकै क्रममा नगरप्रमुखसँग सामान्य विषयमा भएको विवादले उग्र रूप लिँदा यस्तो अवस्था सिर्जना भएको हो ।
उजुरीमा नगरप्रमुखबाट भएको भनिएको अभद्र व्यवहारले आफ्नो आत्मसम्मानमा गम्भीर आघात पुगेको र यस घटनाले कार्यालयको समग्र शान्ति–सुरक्षामा समेत असर पारेको उल्लेख गरिएको छ ।
उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा कर्मचारीका लागि सुरक्षित र सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्न प्रशासनसँग माग गरेका छन् ।
उक्त उजुरी जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता भइसकेको छ भने सम्बन्धित निकायले घटनाबारे थप अनुसन्धान अघि बढाउने तयारी गरेको जनाइएको छ ।
यसैबीच, नगरप्रमुख मण्डलविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा पनि छुट्टै उजुरी परेको छ ।
प्रहरीले उनलाई बुधबार उपस्थित हुन लिखित रूपमा अनुरोध गर्दै तोकिएको समयमा उपस्थित नभए मुद्दा दर्ता प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको स्रोतले जनाएको छ ।
घटनाको पृष्ठभूमिमा श्रेस्तासम्बन्धी फाइलको साँचो (चाभी) को विषयलाई लिएर विवाद उत्पन्न भएको बताइएको छ । सोही क्रममा नगरप्रमुखले कर्मचारीमाथि हातपात गरेको आरोप लगाइएको छ ।
घटनाप्रति प्रतिक्रिया जनाउँदै लेखा समूह धनुषाले पनि नगरप्रमुखमाथि कारबाहीको माग गरेको छ ।
समूहका जिल्ला अध्यक्ष रञ्जित कुमार यादवद्वारा जारी प्रेस विज्ञप्तिमा सार्वजनिक पदमा बसेका व्यक्तिबाट यस्तो व्यवहार हुनु निन्दनीय भएको उल्लेख गर्दै तत्काल कानुनी प्रक्रिया अघि बढाउन माग गरिएको छ ।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा नगरप्रमुख मण्डलसँग सम्पर्क हुन सकेन । उनका दुवै मोबाइल फोन बन्द रहेका कारण आधिकारिक धारणा आउन बाँकी रहेको छ ।




