महोत्तरी – महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ स्थित गौशाला बजारमा वर्षौँदेखि जीर्ण अवस्थामा रहेको नालाको सरसफाइ कार्य सुरु गरिएको छ।

गौशाला नगरपालिकाले बुधबारदेखि मालपोत कार्यालयदेखि उत्तरतर्फ रहेको सडकछेउको नाला सरसफाइ अभियान सञ्चालनमा ल्याएको हो।उक्त क्षेत्रमा सडक विस्तार तथा नाला निर्माण कार्य वि.सं. २०५१ सालदेखि कानुनी विवादका कारण अवरुद्ध हुँदै आएको थियो। सो वर्ष लक्ष्मी देवी राणाले अदालतमा मुद्दा दायर गरेपछि विकास निर्माणका काम प्रभावित भएका थिए।




हाल उच्च अदालत जनकपुरबाट सम्बन्धित मुद्दामा अन्तिम निर्णय भएपछि सरसफाइ तथा निर्माण कार्य अघि बढाउन सहज भएको नगरपालिकाले जनाएको छ।किता नं. ११५ सम्बन्धी उत्प्रेषण रिट निवेदनमा उच्च अदालत जनकपुरले मिति २०८२ फागुन १२ गते निवेदन खारेज गर्ने आदेश दिएको थियो।

अदालतले मालपोत ऐन, २०३४ को दफा २४ बमोजिम सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा व्यक्तिको नाममा दर्ता गर्न नमिल्ने व्यवस्था स्पष्ट पारेको छ। साथै, जग्गा नापजाँच ऐन, २०१९ अनुसार समयमै कारबाही नगरिएको तथा निवेदकबाट पर्याप्त प्रमाण पेश हुन नसकेको ठहर गर्दै रिट निवेदन खारेज गरिएको जनाइएको छ।

गौशाला नगरपालिकाका प्रमुख डा. दिपेन्द्र महतोले अदालतको फैसलासँगै लामो समयदेखि अवरुद्ध विकास निर्माणका काम पुनः अघि बढेको बताउनुभयो। उहाँले नाला सरसफाइसँगै बजार व्यवस्थापन, सडक सुधार र सरसफाइलाई प्राथमिकतामा राखेर गौशाला बजारलाई क्रमिक रूपमा व्यवस्थित र नमुना बजारका रूपमा विकास गरिने उल्लेख गर्नुभयो।

फैसला तथा आदेशको पूर्ण पाठ तयार हुने क्रममा रहेको जनाइएको छ।





