काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार शाहविरुद्ध कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष औपचारिक सिफारिस गरेको छ।
पार्टीको केन्द्रीय कार्यालयबाट पठाइएको पत्रअनुसार मन्त्री शाहले पदमा रहँदा पदको दुरुपयोग गर्दै स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्तिसम्बन्धी विवादास्पद निर्णय गरेको ठहर गरिएको छ। उक्त कार्यले पार्टीको छवि, आदर्श, सिद्धान्त तथा मर्यादामा आँच पुगेको निष्कर्ष केन्द्रीय अनुशासन आयोगले निकालेको पत्रमा उल्लेख छ।



रास्वपाले अनुशासन आयोगबाट प्राप्त प्रतिवेदनका आधारमा पार्टी विधानको धारा २५ (४) (क) तथा धारा ६९ अनुसार ‘राइट टु रिकोल’ को व्यवस्था प्रयोग गर्न सकिने उल्लेख गर्दै मन्त्री शाहलाई जिम्मेवारीबाट अलग गर्न सिफारिस गरेको जनाएको छ।
पत्रमा भनिएको छ, “पदको दुरुपयोग भएको अवस्थाले पार्टीको छवि तथा मर्यादामा आँच आएको छ, त्यसैले जिम्मेवारीबाट अलग गर्नुपर्ने निष्कर्षमा पार्टी पुगेको छ।”
साथै, यस्ता गम्भीर विषयमा अपेक्षित गाम्भीर्यता नदेखिएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहतालाई समेत सचेत गराउन सिफारिस गरिएको पत्रमा उल्लेख छ।





