सुजाता राई
विराटनगर । साहित्यकार बलराम पोखरेलको नवीन कृति “नरपुराण” सार्वजनिक गरिएको छ। नेपाल स्रष्टा समाजद्वारा प्रकाशित उक्त कृतिको एक समारोहबीच खोटाङ सामाजिक सेवा मन्चको सभा हलमा शनिबार लोकार्पण गरिएको हो।



खोटाङ सामाजिक सेवा मन्चको सभा हलमा शनिबार सम्पन्न कार्यक्रममा समीक्षकहरू बाबुराम पोखरेल, भूषण ढुंगेल र दिनेशराज सुवेदीले कृतिमाथि समीक्षात्मक धारणा प्रस्तुत गरेका थिए। उनीहरूले कृतिको विषयवस्तु, भाषाशैली र समसामयिक सान्दर्भिकतामाथि प्रकाश पारे।

समारोहमा प्राज्ञ प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार विवश पोखरेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। विशिष्ट अतिथी प्रभात दीक्षित, प्राज्ञ गंगा सुवेदी, साहित्यकार मेदिनी शर्मा, हरिहर भण्डारी, मधु पोखरेल, दिनेश सुवेदी, भूषण ढुंगेल, सरला चापागाईं लगायतको उपस्थिति थियो।

प्रमुख अतिथिले कृतिकारलाई शुभकामना व्यक्त गर्दै कृतिमा प्रस्तुत गरिएको सृष्टि संरचना र मानव उत्पत्तिसम्बन्धी धारणा मौलिक तथा विचारोत्तेजक रहेको बताए। उनले मानव उत्पत्तिलाई बदर (बीज/मूल तत्व) बाट विकसित भएको रूपमा व्याख्या गरिएको पक्षले पाठकलाई नयाँ दृष्टिकोण प्रदान गर्ने उल्लेख गरे।

लेखकको कृतिमा विभिन्न विषयगत खण्डहरू समेटिएका छन्। जसअन्तर्गत (१) भूमिका खण्ड – ३० वटा पाठ, (२) देवता खण्ड – ३३ वटा पाठ, (३) राजनीति खण्ड, (४) धर्म खण्ड – ३१ वटा पाठ, (५) भाषा खण्ड – १६ वटा पाठ र (६) सारांश – ६४ वटा पाठ गरी जम्मा २१६ वटा लघु निबन्ध समावेश छन्। हालसम्म लेखकले जम्मा १६ वटा कृति प्रकाशित गरिसकेका छन्।

कार्यक्रममा स्वागत मन्तव्य शारदा भट्टराईले व्यक्त गरिन्। नेपाल स्रष्टा समाजका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन लक्ष्मी पोखरेलले सम्हालेकी थिइन्।
लोकार्पण समारोहमा साहित्यकारहरूको बाक्लो उपस्थितिले कार्यक्रमलाई थप आकर्षक र रोचक बनाएको थियो।




