धनुषा । मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले नव वर्ष २०८३ को अवसरमा सम्पूर्ण प्रदेशवासीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ।
नव वर्षको पावन अवसरमा जारी सन्देशमार्फत प्रदेश प्रमुख कर्णले सबै नागरिकको जीवनमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको निरन्तर वृद्धि होस् भन्ने कामना व्यक्त गर्नुभएको हो।



उहाँले नयाँ वर्षलाई विगतका अनुभव, उपलब्धि र चुनौतीहरूबाट पाठ सिक्दै सकारात्मक सोच, आत्मविश्वास र सहकार्यका साथ अघि बढ्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभएको छ।
‘समय निरन्तर परिवर्तनशील छ । यसले हामीलाई जीवनको वास्तविकता र परिवर्तनको महत्व सिकाउँछ,’ उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ।
प्रदेश प्रमुख कर्णले मधेश प्रदेशलाई विविध भाषा, संस्कृति र परम्पराको अनुपम संगमका रूपमा चित्रण गर्दै यस विविधताभित्रको एकता नै प्रदेशको प्रमुख शक्ति भएको उल्लेख गर्नुभएको छ।
आपसी सम्मान, सहअस्तित्व र सहकार्यलाई अझ मजबुत बनाउँदै शान्त, समावेशी र समृद्ध समाज निर्माण गर्न सबैलाई आह्वान गरिएको छ ।
उहाँले साना साना सकारात्मक प्रयासहरूले नै ठूलो परिवर्तन सम्भव हुने भन्दै प्रत्येक नागरिकलाई समाज र राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ।
उहाँले नयाँ वर्ष २०८३ ले सबैमा नयाँ ऊर्जा, नवीन सोच र उज्ज्वल भविष्यप्रतिको अटल विश्वास प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।





