जनकपुर- धनुषाको बटेश्वर गाउँपालिका–४ स्थित बाँसघारीमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । मृतक स्थानीय ६० वर्षीय जगतबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।
उनको शव आज बिहान करिब ९ बजे सोही वडास्थित जगदीश रविदासको बाँसघारीमा फेला परेको हो ।



मृतकका छोरा अमित थापाका अनुसार बुधबार साँझदेखि उनी बेपत्ता भएका थिए । बेपत्ता हुनुअघि उनले मादक पदार्थ सेवन गरेको बताइएको छ ।

शव फेला परेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिनुभयो ।
प्रारम्भिक अनुसन्धानका आधारमा अत्यधिक मादक पदार्थ सेवनका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि सम्बन्धित अस्पताल पठाउने तयारी भइरहेको छ ।




