धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२, का ६५ वर्षीय राजेन्द्र माझीले पक्की घर पाएपछि निकै खुसी हुनुहुन्छ ।
वर्षौंदेखि चुहिने फुसको छाप्रोमा कष्टकर जीवन बिताउँदै आउनुभएका उहाँ अहिले पक्की घरमा ढुक्कले बस्न पाएपछि खुसी हुनुभएको हो ।उहाँ यसअघि तीन धुर जमिनमा बनेको दुई कोठाको सानो छाप्रोमा दुई छोराबुहारी र पाँच नातिनातिनासँगै बस्दै आउनुभएको थियो ।



उहाँका अनुसार वर्षामा पानीमा भिजेर बस्नुपर्ने र शीतलहरमा चिसोले कठाङ्ग्रिएर बस्नुपर्ने बाध्यता थियो । उहाँले भन्नुभयो, “यो जुनीमा यति राम्रो पक्की घरमा सुत्न पाउँछु भनेर कल्पना नै गरेको थिइनँ । अब त केवल कमाएर परिवार पाल्नु छ, बस्ने चिन्ता हटेको छ ।”
मान्छेलाई बाँच्नका लागि खानासँगै घर पनि चाहिन्छ भन्दै उहाँले आर्थिक अभावका कारण एउटा घरसम्म बनाउन नपाएको भावुक हुँदै सुनाउनुभयो ।त्यस्तै, सोही ठाउँकी निरो देवी पनि शौचालय र भान्छासहितको सुरक्षित पक्की घर पाएपछि हर्षित हुनुहुन्छ । उहाँले भन्नुभयो, “हामी वर्षौंदेखि फुसकै घरमा थियौँ, अहिले शौचालयसहितको पक्की घर पाउँदा सपना जस्तै लागेको छ ।”
ह्याविटेट फर ह्युमिनिटी नेपाल र मुखियापट्टी मुसहरनिया गाउँपालिकाको आर्थिक सहयोग तथा रतौली युवा क्लबको प्राविधिक एवं व्यवस्थापकीय सहकार्यमा सुरक्षित आवास सुदृढीकरण परियोजना अन्तर्गत स्थानीय १४ अव्यवस्थित घरपरिवारका लागि घर निर्माण गरिएका छन् ।
रतौली युवा क्लबका कार्यक्रम संयोजक निरजकुमार सिंहले अव्यवस्थित १४ घरपरिवारका लागि सुरक्षित आवास निर्माण गरेर हस्तान्तरण गरिसकेको र थप १६ वटा घर निर्माणको चरणमा रहेको बताउनुभयो । उहाँले एउटा घर निर्माणमा छ लाख ४२ हजार रुपियाँभन्दा बढी खर्च लागेको बताउँदै तीन लाख ५५ हजार गाउँपालिका, दुई लाख ३० हजार ह्युमिनिटी नेपाल र सम्पूर्ण लागतको १० प्रतिशत बराबरको श्रमदान घर प्राप्त गर्ने घरपरिवारले गरेको बताउनुभयो ।
संयोजक सिंहले प्रत्येक परिवारका लागि दुई वटा कोठा, भान्छा, शौचालय र चापाकल निर्माण गरिएको जानकारी दिनुभयो । उहाँले प्रकृतिमैत्री, भूकम्पको कम जोखिम र कम लागतमा घर निर्माण गरिएको बताउँदै बाँसको अधिक प्रयोग गरिएको बताउनुभयो ।
उहाँका अनुसार धुरीखाँबो, बेरा र छानामा समेत बाँसकै प्रयोग गरिएको छ । प्रशोधित बाँसको प्रयोग गरिएकाले ४० वर्षभन्दा बढी घर टिक्ने उहाँले जानकारी दिनुभयो ।उहाँका अनुसार ह्युमिनिटी नेपाल र गाउँपालिकाको आर्थिक सहयोगमा सामुदायिक सुधार केन्द्र धनुषाले २६ वटा यस्तै घर निर्माण गर्ने तयारी गरेको छ ।
मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले अव्यवस्थित बसोवासीका लागि प्रकृतिमैत्री बाँसको घर बनाइदिएको बताउनुभयो ।
उहाँले नागरिकका लागि सुरक्षित आवासका लागि नगरपालिकाले यो योजना अघि बढाएको जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “नगरभित्रका दलित, सीमान्तकृत, विपन्न परिवारका लागि आवासको व्यवस्था गर्नु नगरपालिकाको दायित्व हो ।”
आफ्नो कार्यकालमा सम्भवतः नगरभित्रका सबै अव्यवस्थित घर परिवारका लागि घर निर्माण गरी आवास उपलब्ध गराउने लक्ष्य रहेको अध्यक्ष यादवले बताउनुभयो । उहाँले हेर्दा सामान्य जस्तो देखिए पनि बाँसको घर तीन दशकभन्दा बढी टिक्ने जानकारी दिनुभयो । अध्यक्ष यादवले परियोजना अन्तर्गत हालसम्म ५६ घर निर्माण भइसकेको र थप ११४ घर निर्माणको तयारी भइरहेको बताउनुभयो ।




