धनुषा – राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालको आयोजनामा तथा सहिदनगर नगरपालिकासँगको समन्वयमा हरवाचरवा अभियन्ताहरूका लागि दुईदिने पैरालिगल तालिम आजदेखि सहिदनगरमा सुरु भएको छ।
तालिममा १५ जना छनोट भएका अभियन्ताहरू सहभागी छन्। सहभागीहरूको संवैधानिक अधिकार, मानव अधिकार, श्रम कानुन, नागरिकता तथा भूमि अधिकार, लैङ्गिक हिंसा तथा भेदभावविरुद्धका कानुनी प्रावधानसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ।




कार्यक्रमको उद्घाटन सहिदनगर नगरपालिकाकी उपप्रमुख सुनीता सिंहले गर्नुभयो। उहाँले तालिमको समग्र तथा व्यवहारिक पक्षको प्रशंसा गर्दै हरवाचरवा समुदायजस्ता सीमान्तकृत समूहलाई न्याय प्रणाली र सार्वजनिक सेवासँग जोड्न पैरालिगलहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।

साथै, उहाँले सहभागीहरूलाई सक्रिय सहभागितामार्फत सिकाइलाई समुदायस्तरमा व्यवहारमा उतार्न आग्रह गर्नुभयो।उद्घाटन सत्रमा सहिदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल कुमार झा, राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका उपाध्यक्ष प्रसाद सदा तथा जिल्ला हरवाचरवा अधिकार मञ्च धनुषाका अध्यक्ष राज देव बिनले धारणा व्यक्त गर्नुभएको थियो।

कानुनी विज्ञ सञ्जु पाण्डे तथा RDN का कार्यकारी निर्देशक हुकुम बहादुर सार्कीको सहजीकरणमा सञ्चालन भइरहेको उक्त तालिमले सहभागीहरूलाई मुद्दा दस्तावेजीकरण, परामर्श, मेलमिलाप तथा सन्दर्भ सेवासम्बन्धी व्यवहारिक सीप प्रदान गर्ने अपेक्षा गरिएको छ। तालिमपछि उनीहरू आफ्ना समुदायमा अग्रपंक्तिका कानुनी सहयोगकर्ताका रूपमा प्रभावकारी रूपमा कार्य गर्न सक्षम हुने विश्वास लिइएको छ।





