बर्दिवास । ‘सार्प सुटर’ प्रयोग गरेर आफ्नै पतिको हत्या गरेको आरोप लागेकी एक महिला र उनकी दुई बहिनीलाई महोत्तरी प्रहरीले सात वर्षपछि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा महोत्तरीको बर्दिवास नगरपालिका-३ गौरीडाँडा निवासी ३८ वर्षीया पुजा थापा, उनकी बहिनीहरू गौरीडाँडाकै ३३ वर्षीया निशा बस्नेत (गौतम) र सिन्धुलीको कमलामाई नगरपालिका- ९ बस्ने ३६ वर्षीया आरती बस्नेत (थापा) छन्।



पुजाले ७ वर्षअघि आफ्ना पाँच बहिनी र आमाकोसमेत सहयोग लिएर सर्लाही र रौतहटका पाँचजना ‘सार्प सुटर’हरूको प्रयोग गरी पति श्रवण थापा (सरोज)को हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी विकास बमले जानकारी दिए।
‘हत्यापछि भारतमा बस्दै आएका उनीहरूलाई हामीले बाँकेको सीमा क्षेत्रबाट पक्राउ गरेर तीन दिनअघि महोत्तरी ल्याएका छौँ,’ डीएसपी बमले भने, ‘हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखेर थप अनुसन्धान कार्य भइरहेको छ।’
यो घटनामा जोडिएका १२ जना अभियुक्तमध्ये चार जनालाई प्रहरीले त्यतिबेलै पक्राउ गरेको थियो। अझै मृतक सरोजकी सासु लक्ष्मी बस्नेत, सालीहरू कोपिला बस्नेत, अनुसा बस्नेत र सोनी बस्नेत तथा सार्प सुटर जाल मोहम्मद फरार रहेका प्रहरीले जनाएको छ।
घटना विवरण अनुसार ५ भदौ २०७६ को राति बर्दिवास–सिन्धुली सडक खण्डमा पर्ने बर्दिबास-३ को स्मृतिपार्क नजिकै ०२–००१ प ३०५४ स्कुटरसँगै श्रवण थापा घाइते अवस्थामा भेटिएका थिए। स्कुटरमा कुनै क्षति नभएको तर टाउकोमा गहिरो चोट लागेको अवस्थामा त्यतिबेला थापा गम्भीर घाइते अवस्थामा भेटिएका थिए।
श्रवनलाई प्रहरीले उद्धार गरेर उपचारको लागि बर्दिवासको एक अस्पताल पुर्याउँनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाको प्रकृति हेर्दा सुरुदेखि नै श्रवणको सवारी दुर्घटनामा मृत्यु नभएको र घटना सुनियोजित हुनसक्ने अनुमान प्रहरीले गरेको थियो।
पतिको मृत्युपछि उनकी पत्नी पूजाले नै कोरामा बसेर काजकिरिया सकेकी थिइन्। त्यही बिचमा प्रहरीले घटनाको सुक्ष्म ढंगले अनुसन्धान अघि बढाएको थियो।
हत्याको केही दिनअघि मात्रै श्रवणले गौरीडाँडाको एउटा जग्गा २० लाख रुपैयाँमा बेचेका थिए। आर्थिक कारणले नै उनको हत्या भएको हुनसक्ने आशंकासहित प्रहरीले मृतककी पत्नी पूजालाई निगरानीमा राखेर अनुसन्धान अघि बढाएको थियो।
त्यही बिचमा हत्यामा संग्लन भएको आरोपमा प्रहरीले सर्लाहीका प्रमोद सिंह र मुकेश साह, रौतहटका ज्ञनारायण महरा र नरेश सहनीलाई पक्राउ गरेको थियो।
उनीहर” पक्राउ परेको थाहा पाउनासाथ मृतककी पत्नी पूजा, सालीहरू निशा र आरती एकाएक फरार भएका थिए। त्यतिबेलासम्म क्रियाकर्म सकिइसकेको थियो।
सुरुमै पक्राउ परेकाहरूले पुजाले पाँच लाख रुपैयाँ सुपारी दिएर श्रवणलाई मार्न लगाएको बयान दिएका थिए। उनीहरूले राति एकान्तमा ढुंगाले टाउकोमा हानेर श्रवणको हत्या गरेको बयान दिएका थिए।
अञ्चल अस्पताल जनकपुरमा गरिएको पोस्टमार्टम रिपोर्टले पनि श्रवणको टाउकोमा ढुंगा प्रहार हुँदा मृत्यु भएको देखाएको थियो।
श्रवणले लागुऔषध सेवन गरेर दुःख दिएकाले हत्या गरेको बयान पुजाले प्रहरीलाई दिएकी छन्।
पूजाले ५ लाख रुपैयाँको सुपारी कबोल गरेपछि आफूहरूले हत्या गरेको तर हत्यापछि ३ लाख रुपैयाँ मात्र दिएको बयान सुटरहरूले प्रहरीलाई दिएका छन्।
लामो अनुसन्धानपछि हत्यारालाई पक्राउ गरेको भन्दै इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख विकास बमलाई महोत्तरी जिल्ला गोदार थापा कार्य समितिले सम्मानसमेत गरेको छ।
काजकिरियापछि श्रवणकी पत्नी, सासु र आमाहरू भागेर भारतको गोआमा पुगेको र यतिका वर्ष त्यही बसोबास गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
डीएसपी बमकै नेतृत्वमा भारतबाट नेपालगन्ज ल्याएर उनीहरूलाई पक्राउ गरिएको हो।
बाँके प्रहरीको सहयोगमा पक्राउ परेका उनीहरूलाई बिहीबार महोत्तरी ल्याएर जिल्ला अदालतमा पेस गरिएको छ। जिल्ला अदालतबाट संगठित अपराध तथा कर्तव्य ज्यान मुद्दामा उतिबेलै उनीहरूविरुद्ध पक्राउ अनुमति जारी भएको थियो।
‘यो घटनामा जोडिएका मृतककी सासु लक्ष्मी बस्नेत, सालीहरू कोपिला बस्नेत, अनुसा बस्नेत र सोनी बस्नेत तथा सुटर जाल मोहम्मद अझै फरार छन्। उनीहरू पनि चाँडै पक्राउ पर्छन,’ डीएसपी बमले भने।




