भारतका विभिन्न पाँच राज्यमा भएको चुनावको मतगणना सोमबार भएको छ । योपटक चुनाव भएकामध्ये सबैभन्दा ठूलो राज्य हो, पश्चिम बंगाल, जहाँ विगत १५ वर्षदेखि तृणमुल कांग्रेस (टीएमसी) की ममता बनर्जी मुख्यमन्त्री थिइन् ।
सन् २०११ मा २५ वर्षदेखिको कम्युनिस्ट सत्तालाई पछारेकी ममतालाई योपकट भाजपाले पाखा लगाइदिएको छ । चुनाव सम्पन्न भएसँगै भारतीय सञ्चार माध्यमहरूमा आएका इक्जिट पोलहरूमा भाजपाले जित्ने अनुमान गरिएको थियो । त्यसपछि झडपहरू हुन सक्ने भन्दै पश्चिम बंगालमा सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो ।



योपटक बंगालसँगै असम, तामिलनाडु, केरलम र पुडुचोरीमा चुनाव भए पनि सबैभन्दा धेरै चर्चामा पश्चिम बंगाल थियो । किनकि यो राज्य चुनाव भएकामध्ये सबैभन्दा ठूलो मात्र होइन, भाजपाले पूरा बल लगाएको राज्य थियो । प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसमेतले बंगालको चुनावमा निकै सक्रियता देखाएका थिए । ममता बनर्जी नै भाजपाको केन्द्र सरकारकी सबैभन्दा कट्टर विपक्षी मानिन्थिइन् । त्यसैले पनि यहाँ टीएमसी र भाजपाबीचको प्रतिस्पर्धाले सबैको ध्यान खिचेको थियो ।

सोमबार बिहान मतगणना सुरु भएसँगै प्रारम्भिक रुझानमा भाजपाले अग्रता बनाउन सुरु गरेको थियो । भाजपाले २९३ सदस्यीय विधानसभामा १९९ सिट जित्ने देखिएको छ । पश्चिम बंगालमा भारतीय इतिहासमा भाजपाले पहिलोपटक चुनाव जितेको हो । लामो समय कांग्रेस आई, त्यसपछि भाकपा र पछि टीएमसीको सत्ता रहेको यहाँ भाजपाको चुनाव चिह्न कमल पहिलोपटक फर्किएको छ । भाजपाबाट शुभेन्दु अधिकारी मुख्यमन्त्रीका दाबेदार मानिएका छन् । उनी कुनै बेला टीएमसीका प्रमुख नेतामध्ये एक थिए । सन् २०२१ को चुनावको ठीकअघि उनी भाजपा प्रवेश गरेका थिए ।

यो १५ वर्षमा टीएमसीले पहिलोपटक हार व्यहोर्दा पार्टी प्रमुख तथा हालकी मुख्यमन्त्री ममता नै चुनावमा पराजित भएकी छिन् । टीमएसी मात्र ८८ सिटमा खुम्चिने देखिएको छ । यसअघि खातासमेत नखोलेको भारतीय कम्युनिस्ट पार्टी (भाकपा) ले २ सिट जित्ने देखिएको छ भने कांग्रेस आईले पनि २ सिट जित्ने देखिएको छ ।
कम्युनिस्ट मुक्त भारत
भारतमा कम्युनिस्ट पार्टीहरू विस्तारै खिइँदै जाँदा दक्षिण भारतीय राज्य केरलममा भने उसको पकड बलियो मानिन्थ्यो । तर, योपटकको चुनावले कम्युनिस्ट मुक्त भारत बनाइदिएको छ । केरलममा भाकपाका पिनराई विजयन मुख्यमन्त्री थिए ।
कम्युनिस्ट पार्टीको अगुवाइमा रहेको एलडीएफ गठबन्धन कांग्रेस आईको अगुवाइमा रहेको यूडीएफ गठबन्धनसँग पराजित भएको छ । १४० सिट रहेको केरलममा यूडीएफले ९८ सिट जित्ने देखिएको छ भने एलडीएफ ३५ सिटमा खुम्चिँदै छ । भाजपाको प्रभाव न्यून रहेको यो राज्यमा भाजपाको गठबन्धन तीन सिट जित्दै छ । पाँचवटा राज्यमध्ये कांग्रेस आईका लागि यो राज्यको चुनाव मात्र खुसीको बनेको छ ।
तामिलनाडुमा फिल्म अभिनेता विजयको सुनामी
योपटक चुनाव भएकामध्ये चर्चामा रहेको अर्को दक्षिण भारतीय राज्य तामिलनाडु हो । यो राज्यमा यसअघि पनि फिल्म स्टारको प्रभाव रहने गरेको थियो । एमजीआर र जयललिता यसको उदारहण हुन् ।

योपटक पार्टी स्थापना गरेको मात्र २ वर्षमा टलिउड फिल्म स्टार थलापति विजय (जोसेफ विजय) को सुनामी आएको छ । उनको पार्टी टीभीकेले २३४ सदस्यीय विधानसभामा १०९ सिट जित्ने देखिएको छ । बहुमतका लागि थलापतिको पार्टीलाई मात्र ७ सिट अपुग भएको छ । यहाँ हाल कांग्रेस आईसमेत रहेको डीएमके पार्टीको सरकार थियो । तर, यो चुनावमा मुख्यमन्त्री एमके स्टालिनसमेत पराजित भएका छन् । डीएमकेले ७२ सिट जित्ने देखिएको छ ।
यस्तै भाजपासमेत रहेको एआईडीएमकेले ५३ सिट जित्ने देखिएको छ । यो पूर्वमुख्यमन्त्री जयललिताको पार्टी हो । अब तामिलनाडुमा थलापति विजय कुनै पार्टीको सहयोगमा मुख्यमन्त्री बन्न सक्छन् ।
असम र पुडुचोरीमा भाजपा निरन्तरता
चुनाव भएका पाँचवटामध्ये दुई राज्यमा यसअघि भाजपाको सरकार थियो । यो चुनावले पश्चिम बंगालसहित तीन राज्यमा उसको सरकार हुने निश्चित भएको छ । असममा भाजपाले सुनामी ल्याएको छ । मुख्यमन्त्री हेमन्त विस्वा सर्मा फेरि मुख्यमन्त्री बन्ने भएका छन् । १२६ सदस्यीय विधानसभामा भाजपाले १०१ सिट जित्ने देखिएको छ । यहाँ कांग्रेसका वरिष्ठ नेता गौरव गोगोई नै पराजित भएका छन्
यस्तै ३० सदस्यीय विधानसभा रहेको पुडुचोरीमा पनि भाजपाले स्पष्ट बहुमत ल्याएको छ ।





