धनुषा- धनुषाको मिथिला नगरपालिका–१, केमलीपुरमा तारजालीमा फसेको चितुवाको सकुशल उद्दार गरिएको छ । करिब ३ महिनादेखी मिथिला नगरपालिका क्षेत्रमा किसानहरुको बाख्रा शिकार गरी खाँदै गरेको चितुवा बुधबार बिहान स्थानीयले तारजालीमा फसेको देखेका थिए। डिभिजन वन कार्यालय धनुषाका कमाण्डर वैजनाथ सिंहले निलगाई, बँदेललगायतका वन्यजन्तुबाट बाली जोगाउन वन क्षेत्र नजिकका किसानले लगाएको तारजालीमा चितुवा पासोमा परेको अवस्थामा उद्दार गरिएको बताउनुभयो ।

डिभिजन वन कार्यालय धनुषाका वनकर्मीहरु, मिथिला नगरपालिका ७ का वडा अध्यक्ष, केमलीपुर सामुदायिक वन उपभोक्ता समूह र पोखरीया दमार सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, सामुदायिक वन उपभोक्ता महासंघका प्रदेश संयोजक, मिथिला वाईल्डलाईफ ट्रष्टका प्राविधीक टोली र स्थानिय समुदायको करिब ३ महिनाको सक्रिय प्रयास पछि धनुषाको मिथिला नगरपालिका ७ मा एक्लेवर र केमली पाखा क्षेत्रका किसानहरुको खोरबाट फरक फरक दिनमा करिब १.५ दर्जन बाख्रा शिकार गरी खाएको चितुवाको वसोवास क्षेत्र पत्ता लगाई व्यवस्थापनका प्रयास पछि बुधवार साझ पर्सा राष्ट्रिय निकुञ्ज–आधाभार र राष्ट्रिय प्रकृती संरक्षण कोषको प्राविधीक टोलीद्वारा उद्धार गरेको हो ।




मिथिला नगरपालिका–७, का वडाध्यक्ष रामबहादुर स्याङ्दनले चितुवाले विगत दुई महिनादेखि स्थानीयलाई त्रसित बनाउँदैआएको बताउनुभयो । उहाँका अनुसार चितुवाले बाख्रा, गाई, पाडो र कुकुर गरी ३५ भन्दा बढी पशुचौपाया मारेको छ । मिथिला नगरपालिकाको चुरे क्षेत्रमा पहिलो पटक सन २०१७ मा क्यामेरा ट्रैपमा एउटा चितुवा रेकर्ड भएको थियो । त्यसपछि सन २०१९, २०२१, २०२३ हुँदै हाल आएर एउटा चितुवा सोही क्षेत्रमा करिब ३ महिना देखी फरक फरक मितिमा वरिपरिको गाऊँमा निरन्तर रुपमा किसानले पालेका बाख्राको शिकार गर्न थालेको थियो । प्राकृतिक वासस्थानमा प्राय १० देखी १५ बर्ष सम्म चितुवा बाँच्ने गर्छ । यस अर्थमा यो चितुवा वृद्ध हुन लागेको र आफैले वनक्षेत्रमा बंदेल, मृग, हरिण र निलगाई जस्ता जनावरको शिकार गर्न सक्षम नभएको अवस्थामा निरन्तर रुपमा खोरभित्रको बाख्रालाई सरल शिकारको रुपमा खाने गरेको हुन सक्ने वन प्राविधिकहरुको अनुमान छ। निकै लजालु र मानिसबाट टाढा बस्न खोज्ने यो चितुवा एक्लै बस्न रुचाउंछ र प्रायः राति सक्रिय हुन्छ ।

यो चितुवाको स्थानान्तरण पछि यस क्षेत्रमा निलगाई, बँदेल लगायतका कृषीमा क्षती पूर्याउने जनावरहरुको संख्यामा बढोत्तरी भई यो क्षेत्रका किसानहरुलाई दिर्घकालिन रुपमा असर पर्न सक्ने सम्भावना देखिन्छ । पासोमा फँसेको यस चितुवाको उद्धारका लागि डिभिजन वन कार्यालय धनुषाले पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत राम चन्द्र खतिवडा र संरक्षण अधिकृत संतोष भगतको समन्वयमा त्यहाँ कार्यालयबाट पशु चिकित्सक डा. नविना ढकाल र राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु उद्धारकर्ता फीरुलाल चौधरी, किरण ठकुरी र बुद्ध लामा सहितका उद्धार टोली तत्कालै निकुञ्जको आधाभार, बारा कार्यालयबाट रवाना भई आएको थियो ।

पर्सा राष्ट्रिय निकुञ्जबाट उद्धार टोली आउने बेला सम्म डिभिजन वन कार्यालय, धनुषा र सव–डिभिजन वन कार्यालय, पुष्पवलपुरका वन अधिकृत र वन रक्षक सहितका टोलीले ईलाका प्रहरी कार्यालयसँगको समन्वयमा भीड नियन्त्रण गरिरहेका थिए भने मिथिला वाईल्डलाईफ ट्रष्टका वन्यजन्तु उद्धारकर्मी सुवोध आचार्य र गौतम राज मण्डलले सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरु र वडा अध्यक्षसँग समन्वय गरेर चितुवालाई निगरानी गरिरहेका थिए । चितुवालाई सकुशल उद्धार गरी सुरक्षित वासस्थानमा पूनर्वासका लागि पठाईएको छ । उद्दार टोलीका डा. निवना ढकालले नियन्त्रणमा लिइएको चितुवालाई आवश्यक स्वास्थ्य परीक्षणपछि पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा छाडिने जानकारी दिनुभयो ।














