लक्ष्मी चौधरी,जनकपुरधाम- मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा सुत्केरी अन्जिना यादवको मृत्यु भएको घटनाबारे गठन गरिएको उच्चस्तरीय छानबिन समितिलाई प्रतिवेदन बुझाउन थप एक साताको म्याद दिइएको छ ।
सात दिनभित्र छानबिन प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको समितिले निर्धारित समयभित्र प्रतिवेदन तयार गर्न नसकेपछि म्याद थप गरिएको हो । घटनासम्बन्धी थप तथ्य संकलन, कागजात अध्ययन तथा सरोकारवालासँगको छलफल पूरा गर्न समय आवश्यक परेकाले म्याद थप गरिएको समितिले जनाइएको छ ।



जेठ ११ गते अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. इन्द्रजित रजकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको थियो । सात दिनभित्र प्रतिवेदन भित्र प्रतिवेदन सार्वजनिक गर्न नसकेपछि समितिले बुधबार एक साताका लागि म्याद थप गरेको छ ।
अन्जिनाको मृत्यु भएको भोलिपल्ट जेठ ९ गते मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल रायको अध्यक्षतामा बसेको बैठकले उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवले समितिले थप समय माग गरेकाले एक साताको म्याद थप गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सार्वजनिक बिदा तथा जनशक्ति अभावका कारण तोकिएको समयभित्र छानबिन प्रक्रिया सम्पन्न हुन सकेन ।
जनकपुरधाम उपमहानगरपालिका–१२ बस्ने २६ वर्षीया अन्जिना यादवको उपचारका क्रममा मृत्यु भएपछि परिवारजनले अस्पताल प्रशासन तथा शल्यक्रियामा संलग्न चिकित्सकमाथि लापरवाहीको आरोप लगाएका थिए । मृतकका पति राधेश्याम यादवले चिकित्सकहरूको लापरवाहीका कारण श्रीमतीको मृत्यु भएको दाबी गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै आउनुभएको छ ।
परिवारजनका अनुसार जेठ ४ गते प्रसव पीडापछि अस्पताल भर्ना भएकी अन्जिनाको आकस्मिक शल्यक्रिया गरिएको थियो । शिशुको जन्मपछि अत्यधिक रक्तस्राव भएको भन्दै चिकित्सकहरूले दोस्रोपटक शल्यक्रिया गरी पाठेघर निकाल्नुपरेको बताएका थिए । त्यसपछि अन्जिनाको स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएको र उपचारकै क्रममा मृत्यु भएको परिवारको आरोप छ ।
प्रतिष्ठानका रेक्टर डा. रामनरेश पण्डितले अन्जिनाको स्वास्थ्य अवस्था सुरुदेखि नै जटिल रहेको दाबी गर्नुभएको छ । उहाँका अनुसार अन्जिनाले गर्भावस्थाभर नियमित स्वास्थ्य परीक्षण नगराएकाले जटिलता पहिचान गर्न कठिन भएको थियो । शल्यक्रियापछि भएको अत्यधिक रक्तस्राव रोक्न चिकित्सकहरूले उपलब्ध सबै स्रोत–साधन प्रयोग गरे पनि बिरामीलाई बचाउन नसकिएको उहाँको भनाइ छ ।





