जनकपुरधाम – सर्लाहीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ। जिल्ला निर्वाचन समितिका संयोजक डा. जय प्रकाश महतोले थप विवाद हुन नदिन, सबै पक्षको धारणा सुन्न तथा आवश्यक छानविन लगायतका कारण अधिवेशन अर्को सूचना नआउनजेलसम्मका लागि स्थगित भएको विज्ञप्तिमार्फत जनाएका हुन्।
आज जिल्ला अधिवेशनको समय तालिका रहेकोमा सोही अनुसार प्रक्रिया अगाडि बढाइएको थियो। तर निर्वाचन प्रक्रियाका क्रममा केही पक्षबाट पार्टीको विधान, नियमावली तथा निर्धारित प्रक्रियाअनुसार कार्य नभएको भन्ने गुनासो तथा आपत्ति प्राप्त भएको भन्दै तत्काललाई अधिवेशन स्थगित गरिएको संयोजक महतोले जनाएका हुन्।



‘विशेष गरी, पालिका अधिवेशनका आवश्यक कागजातहरू अपूर्ण रहेको, निर्वाचित प्रतिनिधिहरूको विवरण केन्द्रीय डिजिटल पोर्टलमा प्रविष्टि हुन बाँकी रहेको र स्वीकृत कार्यविधिअनुसार कतिपय प्रक्रियामा प्राविधिक त्रुटि देखिएको हुँदा तत्काल निर्वाचन अगाडि बढाउन असम्भव हुन आएको छ’, विज्ञप्तिमा उल्लेख छ। यता महोत्तरीमा समेत जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ।






