महोत्तरी – महोत्तरीको बर्दिवास नगरपालिका–९ का वडाध्यक्ष घुरन महतो बैंकिङ कसुर तथा अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ परेका छन्।
ईलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार बर्दिवास–९ र वडा नं. ६ का स्थानीयवासीबाट प्राप्त उजुरीका आधारमा महतोविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढाइएको हो। घटनाका सम्बन्धमा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रहरीका अनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दामा महतोविरुद्ध करिब एक महिनाअघि नै पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी भए पनि उनी फरार रहेकाले खोजी कार्यलाई तीव्र पारिएको थियो।
फरार सूचीमा रहेका महतोलाई खोजतलासका क्रममा बिहीबार बर्दिवास क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको तथा विस्तृत विवरण पछि सार्वजनिक गरिने जनाइएको छ।





