जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षबाट फरार भएका ९ जना अभियुक्तलाई धनुषा जिल्ला अदालतले एक वर्ष कैद सजाय सुनाएको छ ।
शुक्रबार जिल्ला अदालत धनुषाका न्यायाधीश शुभाषबाबु पुरीको इजलासले थुनुवा कक्षबाट भागेको अभियोगमा दोषी ठहर गर्दै एक नाबालकसहित ९ जनालाई एक वर्ष कैद सजायको फैसला सुनाएको हो ।



लामो सुनुवाइपछि २९औँ पेशीमा अदालतले अन्तिम निर्णय दिएको जनाएको छ ।
अदालतका श्रेस्तेदार दिपक पोखरेलका अनुसार थुनुवा कक्ष फोडेर फरार भएको कसुरमा सबै प्रतिवादीलाई एक वर्ष कैद सजाय तोकिएको छ ।
उनीहरूमाथि यसअघि दर्ता भएका अन्य मुद्दाहरूको हकमा भने सम्बन्धित अभियोगअनुसार छुट्टाछुट्टै फैसला भएको उनले जानकारी दिए ।
धनुषा प्रहरीको हिरासतमा रहेका ती थुनुवाहरू २०८१ साल असोज ६ गते राति शौचालयको भेन्टिलेसन तोडेर फरार भएका थिए ।
घटनापछि प्रहरीले व्यापक खोजी अभियान सञ्चालन गर्दै असोज ८ गतेभित्रै सबै फरार थुनुवालाई पुनः पक्राउ गरेको थियो ।
फरार हुनेहरूमा धनुषाको विदेह नगरपालिका, जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका, नगराइन नगरपालिका तथा सिरहा जिल्लाका एक अभियुक्तसहित कुल ९ जना रहेका थिए ।
उनीहरूविरुद्ध थुनुवा कक्षबाट भागेको अभियोगमा मुद्दा दायर गरिएको थियो ।
अदालतको पछिल्लो फैसलासँगै करिब डेढ वर्षअघि भएको उक्त फरार प्रकरणको कानुनी टुंगो लागेको छ ।





