जनकपुरधाम । जनमत पार्टीले आगामी मङ्सिर ८ र ९ गते राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ ।
तीन दिनसम्म चलेको पार्टीको केन्द्रीय बैठकले महाधिवेशनको मिति तय गरेको हो । यद्यपि महाधिवेशन हुने स्थान भने अझै टुंगो लाग्न बाँकी रहेको पार्टीले जनाएको छ ।



पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरीका अनुसार बैठकले महाधिवेशनको तयारीलाई तीव्रता दिने तथा संगठनलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल गरेको छ ।
बैठकमा हालै सम्पन्न उपनिर्वाचनको विस्तृत समीक्षा पनि गरिएको थियो । उक्त निर्वाचनमा जनमत पार्टीले कुनै पनि सिट जित्न नसकेको सन्दर्भमा नेताहरूले विभिन्न कारणबारे समीक्षा गरेका छन् ।
उपाध्यक्ष चौधरीले निर्वाचन परिणाममा स्वतन्त्र उम्मेदवारहरूको प्रभाव, विशेषगरी ‘बालेन फ्याक्टर’, तथा विभिन्न राजनीतिक र सामाजिक परिस्थितिहरूले असर पारेको निष्कर्ष बैठकले निकालेको बताए । उनका अनुसार जनतामा नयाँ विकल्प र परिवर्तनको चाहना बढेकाले परम्परागत राजनीतिक शक्तिहरूले अपेक्षित समर्थन प्राप्त गर्न नसकेको समीक्षा गरिएको छ ।
उनले पार्टीभित्र रहेका केही संगठनात्मक तथा आन्तरिक कमजोरीहरू पनि निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसक्नुका कारण रहेको स्वीकार गरे ।
बैठकमा देशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले जिल्लागत प्रतिवेदन प्रस्तुत गर्दै संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि तथा पार्टी सुदृढीकरणसम्बन्धी सुझाव दिएका थिए । ती सुझावका आधारमा आगामी रणनीति तय गरिने जनाइएको छ ।
यसैबीच, बैठकले पार्टीको विधान संशोधन प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । विधान संशोधनका विषयमा पार्टीका विभिन्न तहका नेता कार्यकर्ता तथा सरोकारवालासँग व्यापक परामर्श गर्ने निर्णय गरिएको उपाध्यक्ष चौधरीले जानकारी दिए ।





