महोत्तरी –सरकारी खर्चमा मितव्ययिता कायम गर्ने उद्देश्यले नेपाल सरकारले सरकारी कार्यालयका कार्यक्रम, तालिम, गोष्ठी र बैठकहरू आफ्नै कार्यालयका सभाहल तथा सरकारी कार्यालयकै सभाहलमा सञ्चालन गर्न निर्देशन दिएको छ। तर महोत्तरीमा भने सरकारकै निर्देशन कार्यान्वयन गराउने जिम्मेवारी पाएको स्वास्थ्य कार्यालय महोत्तरीले नै त्यसको उल्लंघन गर्दै आएको आरोप लागेको छ।
स्वास्थ्य कार्यालय महोत्तरीले आयोजना गर्ने अधिकांश तालिम, गोष्ठी तथा अभिमुखीकरण कार्यक्रमहरू सरकारी कार्यालयको सभाहलमा नगरी निजी होटल तथा पार्टी प्यालेसमा सञ्चालन गर्दै आएको पाइएको छ।
कहिले जलेश्वरका होटल त कहिले बर्दिबास र लालगढ क्षेत्रका होटलहरूमा कार्यक्रम सञ्चालन भइरहेको भन्दै सरकारी खर्चको पारदर्शितामाथि प्रश्न उठेको हो।सरकारी भवनमै कार्यक्रम सञ्चालन गर्न सकिने अवस्थामा पनि होटल रोज्दा हल भाडा, खाना, खाजा तथा अन्य व्यवस्थापन शीर्षकमा अतिरिक्त रकम खर्च हुने गर्छ। यसले जनताको करबाट उठेको रकमको दुरुपयोग भइरहेको आशंका बढाएको छ।“सरकारी कार्यालयसँग आफ्नै पूर्वाधार हुँदाहुँदै बाहिर होटलमा कार्यक्रम गर्नुको आवश्यकता के हो ?” एक स्वास्थ्यकर्मीले प्रश्न गर्दै भने, “यस्ता कार्यक्रमको खर्च र निर्णय प्रक्रिया सार्वजनिक हुनुपर्छ।”




स्वास्थ्य कार्यालय महोत्तरीबाट सञ्चालन हुने तालिम तथा गोष्ठीहरूमा यसअघि पनि अनियमितता हुने गरेको आरोप लाग्दै आएको थियो। सोही विषयमा महोत्तरीका १५ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूले संयुक्त रूपमा छानबिनको माग गर्दै स्वास्थ्य कार्यालय महोत्तरीमा ज्ञापनपत्रसमेत बुझाएका थिए।स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूले तालिम गोष्ठी सञ्चालनको प्रक्रिया, सहभागी छनोट, बजेट खर्च र कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठाउँदै निष्पक्ष छानबिनको माग गरेका थिए। तर त्यसपछि पनि होटलमा कार्यक्रम सञ्चालन गर्ने प्रवृत्ति नरोकिएको भन्दै सरोकारवालाहरूले चासो व्यक्त गरेका छन्।
यता स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नबल किसोर साहले केही त्रुटि भएको स्वीकार गर्दै अब त्यो त्रुटि नदोहरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।स्वास्थ्य क्षेत्रको सुधार, जनशक्ति क्षमता विकास र सेवाको गुणस्तर बढाउन छुट्याइएको बजेट सही ठाउँमा प्रयोग हुनुपर्नेमा उल्टै अनावश्यक खर्च बढाइएको कार्यालयकै कर्मचारीहरुको आरोप छ।
सरकारी कार्यालयमा उपलब्ध सभाहल प्रयोग नगरी बाहिरी होटल छनोट गर्दा त्यसको आधार, प्रक्रिया र आर्थिक प्रभावबारे कार्यालयले स्पष्ट जानकारी दिनुपर्ने माग उठेको छ। होटल छनोटमा पारदर्शिता नभए राज्यकोषको रकम दुरुपयोग हुनसक्ने आशंका समेत गरिएको छ।यता आर्थिक मितव्ययिताको सरकारी नीति र विगतमा उठेका अनियमितताका प्रश्नबीच कार्यालयको कार्यशैलीमाथि थप निगरानी आवश्यक देखिएको छ।
सरकारी निकायले जनताको करबाट चल्ने कार्यक्रमहरूमा पारदर्शिता, जवाफदेहिता र मितव्ययिता कायम गर्नुपर्ने हुन्छ। तर आफ्नै कार्यालयको सभाहल हुँदाहुँदै बारम्बार होटलमा कार्यक्रम गर्ने प्रवृत्तिले सुशासनको नारामाथि नै प्रश्न खडा गरेको छ।अब स्वास्थ्य कार्यालय महोत्तरीले विगतमा सञ्चालन गरेका तालिम तथा गोष्ठीहरूको विवरण, खर्च रकम, होटल छनोटको आधार र सरकारी सभाहल प्रयोग नगर्नुमा व्यापक भ्रष्टाचार भएको भन्दै यसको छानबिन हुनुपर्ने मांग बढ्दै गएको छ।




