राजविराज ।राजविराजस्थित कारागार कार्यालयको सुरक्षा गार्डमा ड्युटीका क्रममा एसएलआर राइफलबाट अचानक गोली चल्दा एक प्रहरी जवान घाइते हुनुभएको छ ।
घटनामा संलग्न प्रहरी जवानलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।



जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार राति राजविराज नगरपालिका–६ स्थित कारागार कार्यालयको ‘ए’ ब्लकअन्तर्गत पोस्ट नं ३ मा ड्युटीमा रहेका नेपाल प्रहरी विशेष सुरक्षा गण, ढल्केबर धनुषा दरबन्दीका २२ वर्षीय प्रहरी जवान बिसोजित राय घाइते हुनुभएको हो ।
राति १० बजेदेखि २ बजेसम्मको ड्युटीमा रहेका राय शौचालयबाट पोस्टतर्फ फर्कने क्रममा पोस्ट नं.४ मा ड्युटीमा रहेका प्रहरी जवान २२ वर्षीय अजयकुमार महतोले बोकेको एसएलआर राइफलबाट अचानक एक राउन्ड गोली चलेको प्रहरीले जनाएको छ।
गोली लागेर कम्मरमाथिको ढाडमा घाइते हुनुभएका रायलाई तत्काल गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा उपचारका लागि लगिएको थियो ।
थप उपचारका लागि उहाँलाई सुनसरी जिल्लाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा रेफर गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले घटनाको पुष्टि गर्दै घटनालगत्तै प्रहरी जवान महतोलाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान थालिएको बताउनुभयो ।घाइते प्रहरी जवान रायको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।




