महोत्तरी – मधेस प्रदेशमा चालु वर्ष असार तेस्रो सातासम्म १४.७३ प्रतिशत धान रोपाइ सम्पन्न भएको छ।कृषि विकास निर्देशनालय, मधेस प्रदेशका अनुसार असार १९ गतेसम्म प्रदेशका आठ जिल्लामा ५९ हजार ८९५.०६ हेक्टर क्षेत्रफलमा धान रोपाइ गरिएको छ।
निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले महोत्तरीमा ४० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकामा हालसम्म १२.३७ प्रतिशत अर्थात ४ हजार ९४८ हेक्टर क्षेत्रफलमा धान रोपाइ सम्पन्न भएको जानकारी दिनुभयो।उहाँका अनुसार सिरहामा सबैभन्दा बढी २५ प्रतिशत अर्थात ६ हजार ५५५ हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको छ।




जिल्लामा कुल ५४ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ।सप्तरीमा ६८ हजार हेक्टरमध्ये २४ प्रतिशत अर्थात १६ हजार ३२० हेक्टर, धनुषामा ४३ हजार ७ सय हेक्टरमध्ये १५ प्रतिशत अर्थात ६ हजार ५५५ हेक्टर, बारामा ४५ हजार १ सय हेक्टरमध्ये १३ प्रतिशत अर्थात ५ हजार ८६३ हेक्टर तथा पर्सामा ५३ हजार ९३८ हेक्टरमध्ये १२ प्रतिशत अर्थात ६ हजार ४७२.५६ हेक्टर क्षेत्रफलमा धान रोपाइ सम्पन्न भएको निर्देशनालयले जनाएको छ।
त्यसैगरी, रौतहटमा ३८ हजार ५ सय हेक्टरमध्ये ८.५ प्रतिशत अर्थात ३ हजार २७२.५६ हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको छ। सबैभन्दा कम सर्लाहीमा ४२ हजार ६९५ हेक्टरमध्ये ८ प्रतिशत अर्थात ३ हजार ४१५ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइ सम्पन्न भएको छ।

निर्देशनालयका अनुसार मधेस प्रदेशमा कुल ५ लाख ५२ हजार ७४५.५ हेक्टर खेतीयोग्य जमिन रहेको छ। तीमध्ये ३ लाख ८५ हजार ९३३ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। मनसुन सक्रिय भएसँगै आगामी दिनमा धान रोपाइले थप गति लिने अपेक्षा गरिएको निर्देशनालयले जनाएको छ।




