धीरेन्द्र प्रसाद साह
जनकपुरधाम । नेपालमा मधेश प्रदेश आँप उत्पादनको प्रमुख केन्द्रका रूपमा परिचित छ । प्रदेशका आठ जिल्लामा फैलिएको व्यावसायिक आँपखेतीले हरेक वर्ष लाखौँ मेट्रिक टन उत्पादन दिँदै आएको छ । उत्पादनको हिसाबले देशकै अग्रणी क्षेत्र भए पनि प्रशोधन उद्योग, शीतभण्डार तथा व्यवस्थित बजार संरचनाको अभावका कारण मधेशको आँप अर्थतन्त्रले अपेक्षित लाभ लिन सकेको छैन । फलस्वरूप किसानले उत्पादनको उचित मूल्य नपाउने, ठुलो परिमाणमा फल नष्ट हुने तथा मूल्य अभिवृद्धिका अवसर गुम्ने समस्या वर्षेनि दोहोरिँदै आएको छ ।



आँप बहुउपयोगी फलका रूपमा परिचित छ । यसको प्रयोग अचार, अमोट, खटाई, जुस, स्मूदी, लस्सी, आइसक्रिम, केक, चिजकेक, सलाद तथा डेजर्टलगायत सयौँ प्रकारका परिकारमा गर्न सकिन्छ । काँचो र पाकेको आँपबाट मूल्य अभिवृद्धियुक्त उत्पादन तयार गरी वर्षभरि बजारमा उपलब्ध गराउन सकिने भए पनि मधेशमा त्यसअनुसारका उद्योगधन्दा विकास हुन सकेका छैनन् । यसले उत्पादनको सिजनमै आँप बजारमा थुप्रिने र किसान न्यून मूल्यमा बिक्री गर्न बाध्य हुने अवस्था सिर्जना गरेको छ ।
उत्पादनको अवस्था
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशका अनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रदेशभर ३२ हजार ५७४ हेक्टर क्षेत्रफलमा आँपखेती गरिएको छ । कृषि विकास निर्देशनालय, नक्टाझिज (धनुषा) का अनुसार उक्त क्षेत्रफलबाट प्रतिहेक्टर औसत ९.०४ मेट्रिक टन उत्पादकत्वका दरले दुई लाख ९४ हजार ५६७ मेट्रिक टन आँप उत्पादन भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा २९ हजार ८८० हेक्टर क्षेत्रफलबाट प्रतिहेक्टर ११.४३ मेट्रिक टन उत्पादकत्वका आधारमा तीन लाख ४१ हजार ४४५ मेट्रिक टन आँप उत्पादन भएको थियो । आँपमा ‘अन इयर’ र ‘अफ इयर’ अर्थात् एक वर्ष बढी र अर्को वर्ष कम उत्पादन हुने प्राकृतिक चक्रका कारण उत्पादनमा उतारचढाव देखिने गरेको कृषि प्राविधिकहरू बताउँछन् ।
प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा बढी सप्तरी र सिरहामा आँपखेती क्षेत्रफल र उत्पादन दुवै बढी छ । गत वर्ष सप्तरीमा ८ हजार ३८७ हेक्टरबाट ७५ हजार ५०० मेट्रिक टन, सिरहामा ९ हजार ५० हेक्टरबाट ७२ हजार ४०० मेट्रिक टन तथा रौतहटमा ४ हजार ७७० हेक्टरबाट ५४ हजार ३७८ मेट्रिक टन आँप उत्पादन भएको थियो । यस्तै सर्लाहीमा २ हजार १०० हेक्टरबाट १३ हजार २० मेट्रिक टन, महोत्तरीमा ३ हजार हेक्टरबाट २९ हजार ७०० मेट्रिक टन, धनुषामा ३ हजार ३२५ हेक्टरबाट २३ हजार २७५ मेट्रिक टन, बारामा १ हजार ४९५ हेक्टरबाट २० हजार ६३१ मेट्रिक टन तथा पर्सामा ४४७ हेक्टरबाट ५ हजार ९६३ मेट्रिक टन उत्पादन भएको तथ्याङ्क छ ।
मधेशमा मालदह, अम्रपाली, बम्बई, मालिका, कलकतिया, किसनभोग, दसहरी र सफेदा जातका आँप बढी उत्पादन हुन्छन् । यसबाहेक अल्फोन्सो, केसर, चौसा, लाङ्ग्रा, टोटापुरी, निलम तथा हिमसागर जातका आँप पनि बजारमा पाइन्छन् ।
बजार व्यवस्थापनको चुनौती
उत्पादन वृद्धि भए पनि बजार व्यवस्थापन किसानका लागि प्रमुख चुनौती बनेको छ । अधिकांश किसानले राजमार्ग आसपासका खुला स्थान, अस्थायी टहरा वा साप्ताहिक हाटबजारमा आँप बिक्री गर्छन् ।
ढल्केवर (धनुषा), लहान (सिरहा), रुपनी, महुली, कठौना, कडरबोना (सप्तरी) तथा लालबन्दी (सर्लाही) जस्ता स्थानमा मौसमी रूपमा ठुलो परिमाणमा आँप कारोबार हुन्छ ।
आँपको मूल्यमा एकरूपता छैन । जात, आकार, गुणस्तर र मागअनुसार मूल्य निर्धारण हुन्छ । चरम उत्पादन सिजनमा किसानले प्रतिकिलो ५० देखि ८० रुपियाँसम्ममा बिक्री गर्नुपर्छ भने खुद्रा बजारमा मालदह ७०–१०० रुपियाँ, बम्बई ८०–१२० रुपियाँ तथा कलकतिया १०० रुपियाँभन्दा बढीमा बिक्री हुन्छ । किसानले कम मूल्य पाउने तर उपभोक्ताले महँगो तिर्नुपर्ने अवस्था छ ।
मधेशमा उत्पादित आँप काठमाडौं, पोखरा, हेटौँडा लगायतका प्रमुख सहर तथा सीमित रूपमा विदेशमा समेत निर्यात हुने व्यापारीहरू बताउँछन् ।
रासायनिक रूपमा पकाइएका आँपको जोखिम
सिजन सुरु नहुँदै बजारमा रासायनिक पदार्थ प्रयोग गरी पकाइएका आँप देखिने गरेको चिकित्सकहरू बताउँछन् । चिकित्सक दिलीप साहका अनुसार क्याल्सियम कार्बाइड प्रयोग गरी पकाइएका आँप स्वास्थ्यका लागि हानिकारक हुन्छन् । यस्तो फल सेवन गर्दा टाउको दुख्ने, रिंगटा लाग्ने, निद्रा लाग्ने, मानसिक असहजता हुने तथा दीर्घकालीन रूपमा कलेजो, मस्तिष्क र मुटुसम्बन्धी समस्या देखिन सक्ने जोखिम हुन्छ ।
उत्पादन वृद्धि र बगैँचा व्यवस्थापन
कृषि प्राविधिक अनुपलाल साहका अनुसार आँप उत्पादन बढाउन बोट रोपेर मात्र पुग्दैन । समयमै गोडमेल, सिँचाइ, मलखाद प्रयोग तथा रोग–कीरा नियन्त्रण आवश्यक हुन्छ । विशेषगरी मधुवा र मिलिबग नियन्त्रणका लागि नियमित प्राविधिक निगरानी र आवश्यक विषादी प्रयोग गर्नुपर्छ । उचित व्यवस्थापनले फल झर्ने, दाना फुट्ने तथा प्राकृतिक क्षतिलाई कम गर्न सकिन्छ ।
आँपको पोषणीय महत्त्व
आँपलाई पोषणयुक्त फलका रूपमा लिइन्छ । यसमा भिटामिन ए, सी, फाइबर, आइरन तथा विभिन्न खनिज तत्व प्रशस्त पाइन्छन् । चिकित्सक टेकनारायण मण्डलका अनुसार नियमित आँप सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउने, रक्तअल्पता रोक्ने, आँखा र छालाको स्वास्थ्य सुधार गर्ने तथा गर्भवती महिलालाई आवश्यक पोषण दिन सहयोग गर्छ ।
प्रशोधन उद्योगको अभाव
मधेशको आँप क्षेत्रको सबैभन्दा ठुलो समस्या प्रशोधन उद्योगको कमी हो । अधिकांश उत्पादन ताजा फलका रूपमा मात्र बिक्री हुन्छ । जुस, पल्प, जाम, स्क्वास, सुक्खा आँप तथा अन्य मूल्य अभिवृद्धियुक्त उत्पादन बनाउने उद्योग अत्यन्त न्यून छन् ।
भण्डारण, शीतभण्डार र रिपेनिङ चेम्बरको अभावले किसानलाई तत्काल बिक्री गर्न बाध्य बनाउँछ । उत्पादन बढी भएको वर्ष ठूलो परिमाणमा आँप नोक्सान हुने वा न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहन्छ ।
आँपका परिकार
जानकारहरूका अनुसार काँचो र पाकेको आँपबाट सयौँ प्रकारका परिकार बनाउन सकिन्छ । अचार, अमोट, खटाई, जुस, खिर, लस्सी, स्मूदी, आँपको धुलो, काँचो आँपको अमिलो जुस, मिक्स फ्रुट जुस, आँप–एभोकाडो–सेलरी जुस, फ्रोजन जुस, स्पाइसी म्याङ्गो सनडे, म्याङ्गो पिच लस्सी, म्याङ्गो किवी लस्सी, म्याङ्गो चिल आइस, म्याङ्गो लाइम कर्ड, म्याङ्गो बेरी स्मूदी, डेजर्ट, म्याङ्गो कुलर, कोकोनट म्याङ्गो पाइनेएप्पल सोर्बेट आदि परिकार बनाउन सकिन्छ ।
सरकारी पहल र आगामी दिशा
मधेश प्रदेश सरकारले आँपलाई उच्च मूल्य कृषि वस्तुका रूपमा प्राथमिकतामा राखेको छ । मूल्य शृंखला विकास, प्रशोधन उद्योग स्थापना, शीतभण्डार निर्माण, निजी लगानी आकर्षण तथा निर्यात प्रवर्द्धनलाई प्राथमिकता दिइएको छ ।
नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ नीति तथा कार्यक्रम र बजेटमा पनि आँप उत्पादन तथा बजार व्यवस्थापनका लागि विशेष कार्यक्रम समावेश गरिएको छ । किसान क्रेडिट कार्ड, कलमी बिरुवामा अनुदान, शीतभण्डार तथा रिपेनिङ चेम्बर निर्माण, सप्तरी र सिरहामा प्रशोधन उद्योग स्थापना तथा निर्यात प्रवर्द्धनका कार्यक्रम समेटिएका छन् ।
तर नीति कार्यान्वयन प्रभावकारी नभएसम्म यसको प्रत्यक्ष लाभ किसानसम्म पुग्न सक्दैन ।
मधेशमा आँप उत्पादनको सम्भावना अत्यन्त उज्ज्वल छ । तर प्रशोधन उद्योग, भण्डारण सुविधा र व्यवस्थित बजार संरचनाको अभावले किसानले वास्तविक लाभ लिन सकेका छैनन् । उत्पादनसँगै मूल्य अभिवृद्धि र प्रशोधनलाई समान रूपमा अघि बढाउन सके मधेशको आँप अर्थतन्त्रले नयाँ उचाइ हासिल गर्न सक्छ ।-गोरखापत्र




