धनुषा – डिसिएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जनकपुर उद्योग बाणिज्य संघको समन्वयमा २०८३ असोज १३ गते जनकपुरधामस्थित उद्योग बाणिज्य संघको सभाहलमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मधेस प्रदेश सभाका सभामुख राम अशिष यादवले स्वदेशी उत्पादनको संरक्षण तथा प्रवद्र्धनसँगै बजार अनुगमनलाई समान, निष्पक्ष र प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ ।

उहाँले व्यवसायीको अधिकारसँगै उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा पाउने अधिकारलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रमका प्रमुख अतिथि सभामुख यादवले आयातित वस्तुको तुलनामा स्वदेशी उत्पादनमा बढी अनुगमन हुने अवस्था रहेको उल्लेख गर्नु भयो । अनुगमन आवश्यक भएपनि त्यसअघि सूचना चुहिने तथा गोपनीयता भंग हुने अवस्थाप्रति सम्बन्धित निकाय सचेत हुनुपर्ने उहाँको भनाइ थियो । स्वदेशमा उत्पादन हुने प्रोटिनयुक्त खाद्य सामग्रीलगायत वस्तु लोप हुँदै गएको र विदेशी वस्तुको आयात बढिरहेको उल्लेख गर्दै उहाँले स्वदेशी उत्पादनलाई संरक्षण गर्नुपर्ने बताउनु भयो । व्यवसाय र मानव अधिकारको विषयलाई स्वदेशी उत्पादन, उपभोक्ता अधिकार तथा बजार अनुगमनसँग जोडेर हेर्नुपर्ने उहाँको भनाइ थियो।




राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका उपसचिव जीवन न्यौपानेले व्यवसाय र मानव अधिकारसम्बन्धी प्रस्तुतीकरण गर्दै व्यवसाय सञ्चालनबाट मानव अधिकारमा पर्नसक्ने प्रभाव तथा संरक्षणमा राज्यको दायित्वबारे ब्याख्या गर्नु भयो । उहाँले नेपाल सरकारले लागू गरेको व्यवसाय र मानव अधिकारसम्बन्धी कार्ययोजना, श्रमिक तथा उपभोक्ता अधिकार, व्यवसायीको जिम्मेवारी र वातावरणीय पक्षबारे जानकारी गराउनु भयो । व्यवसाय सञ्चालनका क्रममा उत्पन्न हुनसक्ने मानव अधिकारसम्बन्धी जोखिम र त्यसबाट प्रभावित हुनसक्ने पक्षको पहिचान आवश्यक रहेको बताउँदै न्यौपानेले राष्ट्रिय मानव अधिकार आयोगले निर्वाह गर्ने भूमिकाबारे समेत औल्याउनुु भयो ।

जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले धनुषामा इन्सेकको आयोजनामा व्यवसायीसँग गरिएको यो दोस्रो कार्यक्रम भएको बताउनु भयो । जिल्लामा नौ ओटा बाणिज्य संघ रहेको जानकारी दिँदै उहाँले व्यवसायीका समस्या तथा व्यवसायसँग सम्बन्धित सवालमा सरोकारवाला निकायबीच नियमित संवाद आवश्यक रहेको उल्लेख गर्नु भयो । व्यवसायीबाट त्रुटि भए सुधारका लागि आवश्यक समय दिनुपर्ने र कानुन उल्लंघन भए प्रचलित कानुनअनुसार कारबाही गर्नुपर्ने बताउँदै अध्यक्ष भण्डारीले व्यवसायीले उपभोक्ता, श्रमिक र समुदायका अधिकारप्रति समेत उत्तरदायी हुनुपर्ने धारणा राख्नु भयो ।

इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवानले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भयो । उहाँले व्यवसायबाट श्रमिक, उपभोक्ता, समुदाय तथा वातावरणमा पर्नसक्ने प्रभावप्रति व्यवसायी जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै संयुक्त राष्ट्रसंघको व्यवसाय र मानव अधिकारसम्बन्धी मार्गदर्शक सिद्धान्तअनुसार मानव अधिकारको सम्मान, संरक्षण र उपचारको सुनिश्चितताका लागि व्यवसायी, राज्यका निकाय र मानव अधिकार क्षेत्रबीच नियमित संवाद तथा सहकार्य आवश्यक रहेको बताउनुभयो।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनुषाका प्रमुख विमलकुमार दाहालले मधेस प्रदेशका सबै जिल्लामा कार्यालय तथा शाखामार्फत क्षेत्राधिकारअनुसार खाद्य वस्तुको अनुगमन भइरहेको बताउनु भयो । खाद्य वस्तुको गुणस्तर कायम गर्न नियमित अनुगमन गरिने जानकारी दिँदै उहाँले व्यवसायीलाई गुणस्तरीय सामग्री मात्र बिक्रीका लागि राख्न आग्रह गर्नु भयो ।

औषधि व्यवसाय संघ धनुषाका अध्यक्ष प्रमोद अग्रवालले आफूहरू पहिले मानव र त्यसपछि मात्र व्यवसायी भएको बताउनु भयो । अनलाइन माध्यमबाट औषधिसम्बन्धी गलत विज्ञापन तथा प्रचार भइरहेको उल्लेख गर्दै उहाँले त्यसको नियमनमा राज्यका निकायले ध्यान दिनुपर्ने बताउनु भयो । भ्रामक प्रचारबाट उपभोक्ताको स्वास्थ्यमा असर पर्नसक्ने भएकाले प्रभावकारी निगरानी आवश्यक रहेको उहाँको भनाइ थियो ।

मधेस प्रदेश मिडिया काउन्सिलका पूर्व कार्यवाहक अध्यक्ष तथा सञ्चारकर्मी कैलाश दासले बजार अनुगमनमा मानव अधिकारकर्मीको सहभागिता गराउँदा प्रक्रिया थप प्रभावकारी हुनसक्ने बताउनु भयो । जनकपुरधाम आउने बाह्य पर्यटकप्रति व्यवसायीको व्यवहारमा सुधार आवश्यक रहेको उल्लेख गर्दै उहाँले पर्यटकमैत्री वातावरण बनाउनुपर्ने धारणा राख्नु भयो ।सहभागी दलित अभियन्ता सत्तो सदाले इँटा उद्योगका कारण खेतीयोग्य जमिन तथा कृषि उत्पादनमा परेको असरलाई मानव अधिकारको विषयका रूपमा लिनुपर्ने बताउनु भयो । इँटा उद्योगका कारण किसानको खेती प्रभावित भइरहेकाले यसतर्फ राज्यका निकायको ध्यान जानुपर्ने उहाँको भनाइ थियो ।

सहभागीहरुबीच व्यवसाय सञ्चालनका समस्या, बजार अनुगमन, स्वदेशी उत्पादन तथा उपभोक्ता अधिकारसँग सम्बन्धित विषयमा अन्तरक्रिया भयो । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाअन्तर्गतका विभिन्न व्यवसाय संघका अध्यक्ष तथा प्रतिनिधि, व्यवसायी, मानव अधिकारकर्मी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।










