रवीन्द्र उप्रेती
बर्दीबास । महोत्तरी प्रहरीले अवैध सालको काठसहित वन तस्करीमा प्रयोग भएको एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ। जिल्लाको गौशाला नगरपालिका–११ स्थित ढोलन खोला क्षेत्रबाट प्रहरीले काठ लोड गरिएको ज १ त २५२६ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो।
ढोलन खोला तथा आसपासका जङ्गली क्षेत्रमा काठ तस्करीको गतिविधि बढेको सूचनाका आधारमा प्रहरी चौकी कान्तिबजारबाट मङ्गलबार बिहान गस्ती टोली परिचालन गरिएको थियो। प्रहरी टोलीलाई टाढैबाट देखेपछि ट्याक्टर चालक सवारीसाधन छाडेर फरार भएका थिए।



चालक फरार भए पनि प्रहरीले काठसहितको ट्याक्टर नियन्त्रणमा लिन सफल भएको जनाएको छ। नियन्त्रणमा लिइएको ट्याक्टरबाट २५.२८ क्युफिट बराबरका ११ थान सालका काठ बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चलाल गोलेका अनुसार बरामद काठ र ट्याक्टरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लक्ष्मिनियास्थित सब–डिभिजन वन कार्यालयमा बुझाइएको छ।
बरामद काठ वन क्षेत्रको कुन स्थानबाट चोरी गरी कहाँ लैजान खोजिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले फरार चालकको खोजी तीव्र बनाएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी गोलेले जानकारी दिनुभयो।




