काठमाडौं – त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि एक युवकले बिहीबार आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् ।
घाइते युवकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।



आत्मदाह प्रयास गर्ने व्यक्ति मुगु जिल्लाको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपाली रहेको खुलेको छ । हाल भक्तपुरमा बस्दै आएका उनी राइड–सेयरिङ सेवामा आबद्ध भएर काम गर्दै आएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार घटना बिहीबार दिउँसो करिब पौने २ बजे भएको हो । घाइते नेपालीको शरीरको करिब ६५ प्रतिशत भाग जलेको छ र उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार नेपालीले राहदानी विभाग अगाडि रहेको ‘नो पार्किङ’ क्षेत्रमा मोटरसाइकल पार्किङ गरेर यात्रुलाई छाड्न गएका थिए । त्यसक्रममा काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोलीले मोटरसाइकलमा ‘ह्विल लक’ लगाएको थियो ।
मोटरसाइकलमा ह्विल लक लगाएपछि नेपाली र नगर प्रहरीबीच भनाभन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । त्यसपछि नगर प्रहरीले मोटरसाइकल उठाएर लैजान खोजेपछि उनले मोटरसाइकल भएकै स्थानमा आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
घटनालगत्तै उनलाई उद्धार गरी वीर अस्पताल पुर्याइएको थियो । प्रहरीले उनी बोल्न सक्ने अवस्थामा रहेको जनाएको छ, तर उनको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।एसपी भट्टराईका अनुसार आत्मदाह प्रयास गर्नुको वास्तविक कारण भने अझै खुलिसकेको छैन । मोटरसाइकलमा ह्विल लक लगाइएकै कारण उनले यस्तो कदम चालेका हुन् वा अन्य कुनै कारण पनि छ भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।- नेपालभ्युज




