काठमाडौँ– सरकारले जलनका बिरामी मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई चिकित्सकहरूको सुझावअनुसार तत्काल थप उपचारका लागि भारत नलैजाने निर्णय गरेको छ।
उहाँको उपचारमा संलग्न चिकित्सकहरूले प्रारम्भिक रूपमा भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार गराउन सिफारिस गरेपछि सरकारले सबै तयारी पूरा गरेको थियो। हवाई उद्धार (एयर एम्बुलेन्स) को व्यवस्था गर्नुका साथै भारतको विमानस्थलदेखि एम्स अस्पतालसम्म पुर्याउने सम्पूर्ण प्रबन्ध मिलाइएको थियो। सरकारले उपचारको सम्पूर्ण खर्च पनि सरकारी कोषबाट व्यहोर्ने जनाएको थियो।



उहाँलाई समयमै विमानस्थल पुर्याउन गृहमन्त्री सुदन गुरुङको निर्देशनमा नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई रातभर सडक व्यवस्थापनमा परिचालन गरिएको थियो।
तर, वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचाररत नेपालीको स्वास्थ्य अवस्था अस्थिर भएपछि तत्काल स्थानान्तरण गर्दा थप जोखिम हुन सक्ने निष्कर्ष चिकित्सकहरूले निकालेका छन्। त्यसपछि सरकारले तत्काल भारत नलैजाने निर्णय गरेको हो।
चिकित्सकहरूले उहाँको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र भारत लैजान उपयुक्त हुने सुझाव दिएका छन्।
यसैबिच, गृहमन्त्री गुरुङ तथा प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू बिहीबार रातिदेखि नै वीर अस्पतालमा तयारी अवस्थामा (स्ट्यान्डबाइ) रहेका छन्।
बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ।
हाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा। निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय टोली उहाँको उपचारमा खटिएको छ।
उक्त टोलीले रक्तचाप नियन्त्रणमा राख्दै स्वास्थ्य अवस्था स्थिर बनाउन आवश्यक औषधि र सघन उपचार निरन्तर जारी राखेको अस्पतालले जनाएको छ।




