महोत्तरी। मधेश प्रदेशमा भूमिगत जलश्रोतको तीव ह्रास जलवायु परिवर्तनको कारण भइरहेकोले यसमा सबैजनालाई सचेत हुन आग्रह एक कार्यक्रममा गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकामा जलवायु परिवर्तनको जोखिम बढदै गएको हुँदा त्यस क्षेत्रका युवाहरुले सञ्चालन गरेको ‘जलवायु न्याय अभियान क्षमता अभिवृद्धि’ कार्यक्रममा मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालयका उपसचिव वेचन कुमार महतोले त्यस्तो आग्रह गर्नुभएको हो । शनिबार अबेरसम्म जनकपुरधामको जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको सो कार्यशाला गोष्ठीमा प्रमुख अतिथीको रुपमा बोल्नुहुदै वन तथा वातावरण मन्त्रालयका उपसचिव महतोले मधेशमा एकातिर भिषण गर्मी, अर्को तिर अप्रत्यासित बाढी तथा भूमिगत जलश्रोतको तीव ह्रास जलवायु परिवर्तनकै कारण भइरहेको दावी गर्नुभयो ।
उहाँले जलवायु परिवर्तनबाट भइरहेको जोखिमबारे यसक्षेत्रका युवाहरुले दिइरहेको चासो र चिन्तालाई सकारात्मक रुपमा लिनुहुदै उहाँले जलवायु संकट केवल वातावरणीय समस्या मात्र नभई समाजका सबैभन्दा सीमान्तकृत समुदायको सामाजिक तथा आर्थिक न्यायको विषयमा गम्भीर वहस बनेको बताउनुभयो । उहाँले मन्त्रालयले वन तथा वातावरण क्षेत्रमा लैङ्गिक समानता, अपाङ्गतामैत्री तथा सामाजिक समावेशीकरण सम्बन्धी रणनीति तथा कार्यान्वयन योजना लागू गरेको जानकारी दिनुहुदै स्थानीयतहहरुलाई पनि यसमा बजेट विनियोजन र प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
दिगो विकास इन्स्टिच्युटले जनकपुरधाम वडानं. २४ बसहियाका युवा आभाष कर्णको नेतृत्वमा कायापलट, ओेरेक नेपाल लगायतका संस्थाको सहकार्य र सहयोगमा सो कार्यशाला गरेको हो ।
कार्यशालाका नेतृत्वकत्र्ता आभाष कर्णले मधेश प्रदेशको आठ वटै जिल्लाका युवाहरुबीच जलवायु सम्बन्धी नीति निर्माण, जलवायु न्यायका मुख्य चुनौती, समस्या र सो समस्या समाधानका विषयवस्तुमा केन्द्रीत रही छलफल गरिएको जानकारी दिनुहुदै जलवायु सम्बन्धी चेतना यस क्षेत्रमा कमी देखिएकोले कार्यशाला आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालय मधेस प्रदेशका उपसचिव बेचन कुमार महतोसहित ओरेक नेपाल मधेस प्रदेशका संयोजक बिना सिंह, कायापल्ट संस्थाका अध्यक्ष दिवाकर उप्रेती, कार्यक्रम अधिकृत प्रत्युस ठाकुर र नेपाल पत्रकार महासंघ धनुषाका पुर्ब अध्यक्ष मनिका झा लगायतका व्यक्तिहरु वक्ताका रुपमा आफ्नो मन्तव्य राख्नुभएको थियो ।
कायापलट संस्थाका कार्यक्रम अधिकृत प्रत्युख ठाकुरले जलवायु परिवर्तन र जलवायु न्याय, मधेस प्रदेशमा यसको अवस्था, संकट न्यूनीकरण र ब्यबस्थापन, मानव अधिकार र युवाका दायित्व भन्ने बारेमा जानकारी दिनुभएको थियो भने ओरेक नेपालका बिना सिंहले जलवायु परिवर्तनका कारण महिलाका स्वास्थ र जीवनमा पर्ने प्रभावबारे आफ्ना बिचार राख्नुभएको थियो ।
त्यस्तै नेपाल पत्रकार महासंघ धनुषाका पुर्ब अध्यक्ष मनिका झाले सूचना, समाचार, प्रविधिका मार्फत जलवायु न्याय सम्बन्धी जनचेतना अभियान चलाउन सकिने र यसको लागि पत्रकारजगतले भूमिका निर्वाह गरिरहेको बारेमा जानकारी दिनुभएको थियो ।
कार्यशालामा वक्ताहरुले पर्यावरण संरक्षणका लागि सक्रिय भई युवाहरु लाग्ने हो भने पर्यावरण संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए । जनकपुरधाममा फोहरको समस्यालाई समाधान गर्न तथा जलवायु परिवर्तनले परिरहेको असरको न्यूनीकरण गर्न अब युवाहरुले नेतृत्व लिनुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।







