
काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको अन्तिम खेलमा नेपालले विहीबार संयुक्त अरब इमिरेट्ससँग खेल्दैछ ।
खेल विहान साढे ९ बजेदेखित् त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ । आजको खेल जितेमा नेपालले सिधै एक दिवसीय विश्वकप क्रिकेटको क्वालिफायर खेल्नेछ ।
नेपाली राष्ट्रिय क्रिकेट टिम निकै ठूलो सफलतातर्फ लम्किरहेको छ । पूर्व खेलाडी र विश्लेषकले त नेपाली क्रिकेट अहिले इतिहासकै उत्कृष्ट लयमा रहेको र अहिलेसम्म नपाएको सफलता नजिक पुगेको बताएका छन् ।
नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता सुरक्षित गरिसकेको छ । एकदिवसीय विश्वकपको क्वालिफायर खेल्ने ऐतिहासिक सफलताको एक खुड्किलो मात्रै पछाडी छ ।
हजारौँ समर्थक काठमाडौं आउने तयारीमा
नेपालमा क्रिकेट समर्थकहरु दिनदिनै बढिरहेका छन् । नेपाली क्रिकेट नराम्रो लयमा रहँदा पनि समर्थकले मैदानमा पुगेर हौसला दिइरहेका हुन्छन । झन यसपटक त नेपाली क्रिकेट ऐतिहासिक सफलता नजिकै रहेको छ । त्यसैले समर्थकहरु निकै उत्साहित छन् ।
बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा यूएईसँग हुने खेल हेर्न काठमाडौं बाहिरबाट पनि समर्थक आउने तयारी गरेका छन् । सामाजिक सञ्जालका विभिन्न ग्रुपमा काठमाडौं आउने सूचना जारी भएका छन् । गाडी रिजर्वका सूचना पनि देख्न सकिन्छ ।
केहि समर्थक पञ्जेबाजाको साथमा पनि मैदान आउने तयारीमा छन् । यसै पनि मैदानमा टन्नै दर्शक हुने गरेकोमा यूएईसँगको खेलमा मैदान खचाखच हुने पक्का देखिन्छ ।
मौसमको डर
पछिल्लो समय निकै उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाललाई बिहीबारको खेलमा यूएईसँग भन्दा पनि मौसमसँग डर मान्नुपर्ने अवस्था छ । प्रि मनसुनको सिजन सुरु भइसकेकाले दैनिकजसो हावाहुरी र पानी परिरहेको छ । पछिल्ला केही दिनयता दिनदिनै जसो मध्यान्हपछि हावाहुरीसहित पानी पर्न थालेको छ ।
सिधै विश्वकप छनोट खेल्न यूएईलाई हराउनैपर्ने दबाबमा रहेको नेपालले मौसमलाई पनि चुनौतीका रुपमा हेरेको छ । यदि पानी परेर यूएईसँग अंक बाँड्नु पर्यो भने नेपालले सिधै विश्वकप छनोट खेल्ने अवसर गुमाउनेछ ।
किनकी यूएईसँग अंक बाँड्दा नेपालको ३९ अंक हुनेछ । नामिबियाको पनि ३९ अंक नै रहेको छ तर रनरेटका आधारमा नेपाल भन्दा माथि नामिबिया रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार पनि पहाडी क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक तथा मौसमविद् विनोद पोख्रेलले काठमाडौंमा बिहीबारको मौसम तुलनात्मक रुपमा राम्रो हुने बताएका छन् । प्रि मनसुनको समय भएपनि पछिल्ला केही दिनको तुलनामा काठमाडौंको मौसम बिहीबार सुधार हुने उनको भनाई छ ।
बिहीबार पानी पर्ने सम्भावना कम छ । मौसम पूर्वानुमान गर्ने केही वेबसाइटले बिहीबार काठमाडौंमा पानी पर्ने सम्भावना ४ प्रतिशत मात्रै रहेको उल्लेख गरेका छन् ।