महोत्तरी – महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–३ खखना गाउँमा गत जेठ २० गते पतिपत्नीलाई गोली प्रहार गरी डकैती गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सम्सी गाउँपालिका–६ का २१ वर्षीय अपरोज शेष, २४ वर्षीय शेष बारिक तथा गौशाला नगरपालिका–५ का क्रिशकुमार मेस्तर रहेका छन्।



जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका व्यक्तिहरूसहितको डाँका समूहले स्थानीय रामविश्वास यादवको घरमा सुतिरहेका उनकी छोरी किरण यादवको खुट्टामा दुई र ज्वाइँ ईश्वरनारायण यादवको दाहिने हातमा एक गोली प्रहार गरी घाइते बनाएको थियो।
घटनामा घाइते भएका दुवै जनाको स्वास्थ्य अवस्था हाल सामान्य रहेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलनमार्फत अभियुक्तहरूलाई सार्वजनिक गरेको हो। घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




