धनुषा । मधेश प्रदेशमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय गरिएको छ।
तीन दलका संसदीय दलका नेताहरूको संयुक्त बैठकले मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा रहेको वर्तमान गठबन्धनलाई यथावत् राख्ने निर्णय गरेको हो। गठबन्धनमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव र नेकपाका संसदीय दलका नेता तथा अर्थमन्त्री युवराज भट्टराई सहभागी हुनुहुन्थ्यो ।



बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री भट्टराईले अन्य प्रदेशमा कांग्रेस–एमालेबीचको राजनीतिक सहकार्य अन्त्य भए पनि मधेश प्रदेशमा भने वर्तमान राजनीतिक समीकरणलाई निरन्तरता दिने सहमति भएको बताउनुभयो। उहाँले प्रदेशको राजनीतिक स्थायित्वलाई ध्यानमा राख्दै तीन दलबीचको सहकार्यलाई कायम राख्ने निर्णय गरिएको स्पष्ट पार्नुभयो।
उहाँका अनुसार एमाले सरकारबाट बाहिरिए मधेशकेन्द्रित दलहरूको समर्थनमा सरकार टिकाउनुपर्ने अवस्था सिर्जना हुन सक्ने भएकाले वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने निष्कर्षमा दलहरू पुगेका हुन्।
एमाले संसदीय दलका नेता सरोजकुमार यादवले तीन दलको सहकार्यबाट प्रदेशको बजेट सफलतापूर्वक पारित भएको उल्लेख गर्दै आगामी दिनमा पनि यही सहकार्यलाई निरन्तरता दिँदै अघि बढ्ने बताउनुभयो।
उहाँले अन्य प्रदेशमा बनेका वा परिवर्तन भएका राजनीतिक समीकरणभन्दा मधेश प्रदेशको अवस्था फरक रहेको उल्लेख गर्दै प्रदेशको स्थायित्व, समृद्धि र विकासलाई केन्द्रमा राखेर तीन दल एकताबद्ध भएर अघि बढ्ने निर्णय गरिएको जानकारी दिनुभयो।
नेपाली कांग्रेसका संसदीय दलका नेता तथा मुख्यमन्त्री कृष्णप्रसाद यादवले यहाँको राजनीतिक अवस्था फरक रहेकोले वर्तमान अवस्थाको यही राजनीतिक समीकरणलाई कायम राख्ने सहमति भएको बताउनुभयो ।




