महोत्तरी- महोत्तरीको औरही नगरपालिका–२ स्थित श्री प्रसाद सिंह नमूना माध्यमिक विद्यालयले करिब २१ वर्षसम्म कार्यालय सहयोगीका रूपमा सेवा गरी अवकाश प्राप्त गरेका नन्दा साहलाई सम्मानसहित बिदाइ गरेको छ।
शुक्रबार आयोजित विशेष कार्यक्रममा साहलाई सम्मानपत्र, दोसल्ला तथा मायाको चिनो प्रदान गर्दै विद्यालय परिवारले उहाँको दीर्घ सेवाको कदर गरेको हो। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा स्थानीय समाजसेवीहरूको सहभागिता रहेको थियो। कार्यक्रमका वक्ताहरूले नन्दा साहले विद्यालयको दैनिक प्रशासनिक कार्य, सरसफाइ, अनुशासन तथा समग्र व्यवस्थापनमा पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँको समर्पण र सेवाभाव विद्यालय परिवारका लागि प्रेरणादायी बनेको बताए।



विद्यालयका निमित्त प्रधानाध्यापक राधा कुमारी साहले नन्दा साहले दुई दशकभन्दा बढी समय इमान्दारिता, अनुशासन र जिम्मेवारीका साथ सेवा गरेको बताउँदै शिक्षकसँगै कर्मचारीहरूको योगदान पनि विद्यालयको सफलतामा उत्तिकै महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो। उहाँले नन्दा साहको योगदान विद्यालय परिवारका लागि सधैं स्मरणीय रहने उल्लेख गर्दै अवकाशपछिको जीवन सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिमय रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। सम्मान ग्रहणपछि नन्दा साहले विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै विद्यालयसँग बिताएका वर्षहरू आफ्नो जीवनका सबैभन्दा महत्वपूर्ण र अविस्मरणीय क्षण भएको बताउनुभयो। विद्यालयबाट प्राप्त माया, विश्वास र सम्मानलाई जीवनभर सम्झिरहने उल्लेख गर्दै उहाँले विद्यालयको निरन्तर प्रगति, गुणस्तरीय शिक्षा र उज्ज्वल भविष्यको कामना गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन कुमार यादवले विद्यालयको शैक्षिक गुणस्तर, अनुशासन तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिनुभयो। उहाँले करिब ७० वर्षको इतिहास बोकेको विद्यालयको विगतको गौरव पुनःस्थापित गर्न विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी, अभिभावक र स्थानीय समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाइएको बताउनुभयो।
विद्यालय व्यवस्थापन समितिका सल्लाहकार घनश्याम यादवले विद्यालय स्थापना भएको करिब ७० वर्षको इतिहासमा पहिलो पटक महिला निमित्त प्रधानाध्यापकको नेतृत्वमा विद्यालय सञ्चालन भइरहेको उल्लेख गर्दै राधा कुमारी साहको नेतृत्वपछि शैक्षिक, प्रशासनिक तथा भौतिक वातावरणमा सकारात्मक परिवर्तन देखिन थालेको दाबी गर्नुभयो। उहाँका अनुसार विद्यालयको सरसफाइ, अनुशासन, कार्यालय व्यवस्थापन तथा समग्र वातावरणमा उल्लेखनीय सुधार आएको छ।
वि.सं. २०१३ सालमा स्थापना भएको श्री प्रसाद सिंह नमूना माध्यमिक विद्यालय महोत्तरी जिल्लाका सबैभन्दा पुराना सामुदायिक विद्यालयमध्ये एक हो। एक समय महोत्तरी, धनुषा र सर्लाहीका विद्यार्थीहरूको प्रमुख शैक्षिक गन्तव्य रहेको विद्यालयमा छात्रावासको समेत व्यवस्था थियो। पछिल्ला वर्षहरूमा निजी विद्यालयको विस्तार, बसाइँसराइ लगायतका कारण विद्यार्थी संख्या केही घटे पनि हाल विद्यालयमा बालविकास (ईसीडी) देखि कक्षा १२ सम्म अध्ययन–अध्यापन सञ्चालन भइरहेको छ।
विद्यालय प्रशासनले ऐतिहासिक पहिचान बोकेको संस्थाको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थी आकर्षण, भौतिक पूर्वाधार तथा व्यवस्थापकीय सुधारका लागि नयाँ योजनासहित काम भइरहेको जनाएको छ। विद्यालयलाई पुनः जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा स्थापित गर्ने लक्ष्यका साथ विद्यालय परिवार, व्यवस्थापन समिति, अभिभावक तथा स्थानीय समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाइएको विद्यालयले जनाएको छ।




