महोत्तरी – महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको लक्ष्मी सागरमा सञ्चालन हुँदै आएको श्री लक्ष्मीनारायण भगवानको साप्ताहिक संध्या आरती पाँच वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित छैटौँ वार्षिक उत्सव समारोह तथा महाआरती सम्पन्न भएको छ।
श्री लक्ष्मी सागर तथा आरती व्यवस्थापन समिति मटिहानीद्वारा आयोजित समारोहको उद्घाटन मधेश प्रदेश सभाका सभामुख रामअशिष यादव र मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले संयुक्त रूपमा गर्नुभएको थियो।




समितिका अनुसार वि.सं. २०७८ साल साउन ५ गतेदेखि प्रत्येक बिहीबार नियमित रूपमा सञ्चालन हुँदै आएको साप्ताहिक संध्या आरतीले धार्मिक पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण तथा सामाजिक सद्भाव अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
समितिका अध्यक्ष बरुण मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभामुख रामअशिष यादवले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै यस्ता गतिविधिले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने बताउनुभयो। नगर प्रमुख हरिप्रसाद मण्डलले लक्ष्मी सागर क्षेत्रलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा नेपाली सेनाको श्री गोरखनाथ गण परिकौलीका गणपति रामप्रसाद लामिछाने, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार सारु मगर, सशस्त्र प्रहरी बल नं. ९ गण महोत्तरीका प्रहरी उपरीक्षक शेरबहादुर अधिकारी, राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीका प्रमुख चन्दनकुमार झा, लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्थ जगरनाथ दास वैष्णव तथा उत्तराधिकारी महन्थ रबिन्द्र दास वैष्णव, मटिहानी नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि, उद्योगी–व्यवसायी तथा स्थानीय श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहअन्तर्गत विशेष महाआरती, भजन–कीर्तन तथा धार्मिक अनुष्ठान सञ्चालन गरिएको समितिले जनाएको छ। धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक एकताको सन्देश प्रवाह गर्दै साप्ताहिक संध्या आरती आगामी दिनमा पनि नियमित रूपमा सञ्चालन हुने समितिले जनाएको छ।




















































