महोत्तरीको बर्दिबास नगरपालिका–१२ बिजलपुरा चल्कीमा सर्पदंशबाट एक बालकको मृत्यु भएको छ। उपचारका क्रममा लागेको खर्च तिर्न नसक्दा परिवारले शवसमेत अस्पतालबाट बुझ्न नसकेको जनाएको छ।
स्थानीय चन्दन कापरका आठ वर्षीय छोरा विवेक कापरलाई बुधबार साँझ घरछेउको आँपको रुखमा फल टिप्ने क्रममा विषालु सर्पले टोकेको थियो। गम्भीर अवस्थामा उनलाई तत्काल बर्दिबास जनसेवा अस्पतालमा भर्ना गरिएको थियो। भेन्टिलेटरमा उपचार भइरहेका विवेकको बिहीबार बिहान मृत्यु भएको हो।



बर्दिबास नगरपालिका–१२ की वडा सदस्य रुपोदेवी सदाका अनुसार सर्पदंशपछि बालकको अवस्था अत्यन्त गम्भीर बनेको थियो। बालककी आमा अमृतदेवी कापरले घरमै आँप टिप्ने क्रममा सर्पले टोकेपछि तत्काल अस्पताल पुर्याए पनि छोरालाई बचाउन नसकिएको बताउनुभयो।
उहाँका अनुसार उपचारका क्रममा करिब ७० हजार रुपैयाँ खर्च भएको छ। कमजोर आर्थिक अवस्थाका कारण उक्त रकम तिर्न नसक्दा शवसमेत अस्पतालबाट बुझ्न नसकेको परिवारको भनाइ छ।
बर्दिबास जनसेवा अस्पतालका सञ्चालक सुमन भुजेलले मानवीय आधारमा उपचार खर्चमा १५ प्रतिशत छुट दिइएको बताउनुभयो। अस्पताल बिरामी र परिवारको अवस्थाप्रति संवेदनशील रहेको उहाँको भनाइ छ।
स्थानीयवासीले विपन्न परिवारलाई तत्काल राहत उपलब्ध गराउन, उपचार खर्च व्यवस्थापनमा सहयोग गर्न तथा आर्थिक अभावकै कारण पीडित परिवारले थप सास्ती भोग्न नपर्ने व्यवस्था गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग माग गरेका छन्।





