औरही(महोत्तरी) – औरही नगरपालिकाले महिलालाई आत्मनिर्भर र स्वरोजगार बनाउन सञ्चालन गरेको तीनमहिने सिलाइ–कटाइ तालिम सफलतापूर्वक पूरा गरेका २० जना महिलालाई सिलाइ मेसिन र प्रमाणपत्र वितरण गरेको छ।
नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले वडा नं. ७ मा सञ्चालन गरेको उक्त तालिमको समापनपछि आयोजित कार्यक्रममा सहभागी महिलालाई एक–एक थान सिलाइ मेसिन तथा प्रमाणपत्र प्रदान गरिएको हो।




कार्यक्रममा नगर प्रमुख प्रदीपकुमार खड्काले महिलाको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राख्दै नगरपालिकाले विभिन्न सीपमूलक तालिम सञ्चालन गरिरहेको बताउनुभयो। उहाँले महिलाले घरमै बसेर आयआर्जन गर्न सकून् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको उल्लेख गर्दै तालिमबाट प्राप्त सीपलाई व्यावसायिक रूपमा प्रयोग गर्न आग्रह गर्नुभयो।
नगर प्रमुख खड्काले तालिममा सहभागी सबै महिला आधारभूत सिलाइ–कटाइ सीपमा दक्ष बनेको बताउँदै अब उनीहरूले आफ्नै व्यवसाय सञ्चालन गरी आम्दानी गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो। आगामी दिनमा पनि महिलाको आर्थिक सशक्तीकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उहाँको भनाइ थियो।

वडा नं. ७ का वडा अध्यक्ष जितेन्द्र यादवले तालिम सञ्चालन गरेर मात्र उद्देश्य पूरा नहुने भएकाले सहभागीलाई तत्काल व्यवसाय सुरु गर्न सहज होस् भन्ने उद्देश्यले सिलाइ मेसिनसमेत उपलब्ध गराइएको बताउनुभयो। सीपसँगै आवश्यक सामग्री उपलब्ध गराउँदा महिलाले आफ्नै घरबाट व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण बन्ने र त्यसले परिवारको आर्थिक अवस्थामा सकारात्मक प्रभाव पार्ने उहाँले उल्लेख गर्नुभयो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका तत्कालीन प्रमुख तथा तालिमका प्राविधिक मनीषकुमार यादवले तीन महिनासम्म सहभागीलाई व्यावहारिक तथा प्राविधिक रूपमा सिलाइ–कटाइसम्बन्धी प्रशिक्षण प्रदान गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार नगरपालिकाका अन्य वडामा सञ्चालन गरिएका यस्तै तालिम पनि सम्पन्न भइसकेका छन् र त्यहाँका सहभागीलाई पनि केही दिनभित्र सिलाइ मेसिन वितरण गरिनेछ।

तालिममा सहभागी औरही नगरपालिका–७ की पुनिता कुमारी मण्डलले तालिमले आफूलाई आत्मनिर्भर बन्ने आधार प्रदान गरेको बताउनुभयो। नगरपालिकाले सिलाइ मेसिन उपलब्ध गराएकाले अब आफ्नै घरबाट सिलाइ व्यवसाय सुरु गर्ने योजना रहेको उहाँले सुनाउनुभयो। यस्ता सीपमूलक तालिमलाई निरन्तरता दिइए थप महिलाले पनि स्वरोजगार बन्ने अवसर पाउने उहाँको विश्वास छ।
कार्यक्रममा वडा सदस्य, वडा सचिव, जनप्रतिनिधि, स्थानीयवासी तथा तालिममा सहभागी महिलाको उपस्थिति रहेको थियो। नगरपालिकाले अन्य वडामा तालिम पूरा गरेका सहभागीलाई समेत आगामी केही दिनभित्र सिलाइ मेसिन वितरण गर्ने जनाएको छ।
भिडियो
फोटो:
































