जनकपुरधाम – सुनसरीको कप्तानगञ्ज घटनाको विरोधमा जनकपुरधाममा सुरु भएको प्रदर्शन उग्र बनेपछि धनुषाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार जनकपुरधाम उपमहानगरपालिका, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिकाका केही क्षेत्रमा बिहीबार दिउँसो साढे ३ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो।हिन्दु सम्राट सेनाको अगुवाइमा भइरहेको प्रदर्शनका क्रममा स्थिति तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कर्फ्यु आदेश जारी गरेको जनाएको छ।



आज बिहानदेखि नै जनकपुरधाममा प्रदर्शन जारी रहेको थियो। प्रदर्शन उग्र बन्दै गएपछि भीड नियन्त्रणका लागि प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ।प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ।





