महोत्तरी – सुनसरीसहित पूर्वी तराईका विभिन्न जिल्लामा भएका घटनाको विरोधमा शुक्रबार महोत्तरीको सदरमुकाम जलेश्वरसहित जिल्लाका प्रमुख व्यापारिक केन्द्र बन्द भएका छन्।
पूर्वघोषित कार्यक्रमअनुसार स्थानीयवासीले शुक्रबार बिहानैदेखि जलेश्वर बजारका अधिकांश पसल तथा व्यवसाय बन्द गरेका हुन्। बजार बन्दका कारण सार्वजनिक यातायातसमेत आंशिक रूपमा प्रभावित भएको छ भने सडकमा सर्वसाधारणको फाटफुट आवतजावत मात्र देखिएको छ।



जिल्लाको प्रमुख व्यापारिक केन्द्र गौशाला नगरपालिका–गौशाला बजार पनि बिहानैदेखि बन्द रहेको छ। व्यापारिक प्रतिष्ठान बन्द हुँदा दैनिक कारोबार प्रभावित भएको स्थानीय व्यवसायीहरूले बताएका छन्।
यसअघि बिहीबार घटनाको विरोधमा जलेश्वरसहित जिल्लाका विभिन्न स्थानमा स्थानीयवासीले प्रदर्शन गरेका थिए। सोही प्रदर्शनपछि स्थानीयको आह्वानमा शुक्रबार बजार बन्द गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लावासीलाई संयमता अपनाउन तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी सञ्जयकुमार पोखरेलद्वारा बिहीबार साँझ जारी प्रेस विज्ञप्तिमा सबै समुदायलाई आपसी सहिष्णुता, सद्भाव र शान्तिपूर्ण वातावरण कायम राख्दै दैनिक जनजीवनलाई नियमित बनाउन अपिल गरिएको छ।
प्रशासनले जिल्लाको शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न कुनै पनि अफवाहको पछि नलाग्न, कानुन हातमा नलिन तथा जिम्मेवार र संयमित भूमिका निर्वाह गर्न सबै पक्षसँग आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जिल्लाको समग्र सुरक्षा अवस्था सामान्य रहेको छ। सम्भावित अप्रिय घटना हुन नदिन संवेदनशील क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ।





