महोत्तरी – देशका विभिन्न स्थानमा स्थानीय समुदायबीच उत्पन्न असमझदारीका कारण सिर्जना भएको असामान्य परिस्थितिप्रति गौशाला नगरपालिकाले गम्भीर चासो व्यक्त गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षसँग आग्रह गरेको छ।
गौशाला नगरपालिकाका नगर प्रमुख डा. दीपेन्द्र महतोले शुक्रबार जारी गरेको सार्वजनिक अपिलमा पछिल्ला घटनामा ज्यान गुमाएका नेपाली नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न नेपाल सरकारसँग आग्रह गर्नुभएको छ।



नगर प्रमुख महतोले कुनै एक स्थानमा भएको दुःखद् घटनाका आधारमा सम्पूर्ण समुदायलाई दोषी ठहर गर्नु न्यायोचित नहुने उल्लेख गर्नुभएको छ। उहाँले सामाजिक सहिष्णुता, आपसी विश्वास र शान्ति सुरक्षाको संरक्षणमा स्थानीय सरकारसहित सबै पक्ष थप जिम्मेवार र संवेदनशील बन्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
अपिलमा नेपाली समाज परापूर्वकालदेखि नै आपसी सद्भाव, सहिष्णुता, भाइचारा र परस्पर सम्मानको संस्कृतिमा आधारित रहेको उल्लेख गर्दै धर्म, जाति वा संस्कृतिका नाममा फैलाइने हिंसा, घृणा र विभाजनले सामाजिक एकता कमजोर बनाउने चेतावनी दिइएको छ।
तराई–मधेशका केही क्षेत्रमा सामाजिक तथा धार्मिक सद्भावमा असर पुग्ने गतिविधि देखिएको उल्लेख गर्दै नगर प्रमुख महतोले त्यस्ता गतिविधिप्रति सबै नागरिक सजग, जिम्मेवार र संयमित हुनुपर्नेमा जोड दिनुभएको छ।
उहाँले नगरवासी, राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधि, धर्मगुरु, सञ्चारकर्मी तथा प्रबुद्ध व्यक्तिलाई अफवाहको पछि नलाग्न, कानुनको पालना गर्न तथा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न र शान्ति, भाइचारा तथा राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ।






