नेपाली कांग्रेसमा शेरबहादुर देउवा शक्तिमा हुँदा नेता बालकृष्ण खाँणको प्रभाव र रवाफ राम्रै जम्थ्यो । देउवाका विश्वासपात्रको रूपमा उनले पार्टीभित्र र राज्यसत्तामा ‘सत्ता–शक्ति’सहितको राजनीति गरे ।
कतिपय नेता त उनलाई शेरबहादुर देउवा र उनको समूहको उत्तराधिकारीका रूपमा समेत टिप्पणी गर्थे, किनभने नेविसंघ‚ तरूण दलजस्ता प्रभावशाली भातृ संगठनमा नेतृत्व लिएर उदाएका कमै नेतामा खाँण पर्छन् ।



उनै खाँणले ७ असोजमा बुटवल पुगेर भने- ‘आसन्न १५औँ महाधिवेशनबाट पार्टी सभापतिमा पुनः गगनकुमार थापा नै निर्वाचित हुनुहुन्छ ।’
पटक-पटक मिति सारे पनि अन्तत: नेपाली कांग्रेसले यहीँ १८ असोजबाट पार्टीको केन्द्रीय महाधिवेशन गर्दैछ । उक्त महाधिवेशनबाट सभापति पदमा गगन थापा नै निर्वाचित हुने ‘लगभग’ निश्चित नै छ ।
अन्य ठूलै राजनीतिक समीकरण नबने गगनलाई सभापति बन्नबाट कसैले रोक्न सक्ने अवस्था छैन । त्यसमाथि असन्तुष्ट समूह छुट्टै महाधिवेशनमा लागेकाले पनि गगन कांग्रेसको सर्वसम्मत सभापति बन्दैछन् ।
त्यसो त गगनलाई चुनौती दिने भन्दै किशोरसिंह राठोर सभापतिमा लड्ने बताइसकेका छन् । तर‚ कांग्रेस स्रोतको दाबीअनुसार राठोर महामन्त्री वा उपसभापतिमध्ये एक पदको बार्गेनिङमा छन् ।
पद पाउने भए उनी सभापति लड्ने छैनन् । पद नपाएमात्र अन्तिममा उनी सभापति लड्ने सक्ने गगननिकट एक नेताको दाबी छ ।
‘उहाँको बार्गेनिङ महामन्त्री वा उपसभापति देऊ भन्नेमा हो । उहाँ सहमहामन्त्री भइसकेकाले पनि त्यो दाबी स्वभाविक हो‚’ स्रोत भन्छ‚‘यसैपनि हार्ने चुनाव हो भनेर लड्नुभयो भने एउटा कुरा । नभए गगनलाई अहिले सभापतिमा रोक्ने कस्को आँट र हिम्मत होला र !’

गएको पुसमा विशेष महाधिवेशन गर्दै गगन थापा पार्टी सभापति बनेका थिए । त्यसपश्चात् कांग्रेस ‘हाम्रो हो भन्दै’ संस्थापन र असन्तुष्ट समूहबीच विवाद कायमै छ । सर्वोच्च अदालतमा पनि मुद्दा यथावत् छ ।
अधिकारिकता कसलाई दिने भन्ने अन्तिम निर्क्यौल हुन सकेको छैन । यस्तो अवस्थामा संस्थापन समूह र असन्तुष्ट समूहले अलग–अलग महाधिवेशन गर्दैछन् । गगन थापा नेतृत्वको संस्थापन समूहले क्षेत्रीय अधिवेशनसम्म सम्पन्न गरेपश्चात् केन्द्रीय अधिवेशनमा अघि बढेको छ । यस अधिवेशनले गगनकै नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्ने बताउँछन्-सहमहामन्त्री उदय शमशेर राणा ।
‘१६ औँ अधिवेशनसम्म गगनजीकै नेतृत्वमा पार्टी अघि बढाउने हो । अहिलेको म्यान्डेट पनि यही हो‚’ उनले लोकान्तरसँग भने ।
यस्तै कथन सहमहामन्त्री लड्ने घोषणा गरेसकेकी केन्द्रीय सदस्य प्रतिमा गौतमको पनि छ । ‘गगनजीलाई नै मानेर आसन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्छ‚’ उनले पनि लोकान्तरसँग भनिन् ।
सभापतिबाहेक उपसभापति पदमा पनि एउटा विकल्प मात्र खोज्ने तयारी भएको छ । वर्तमान उपसभापति विश्वप्रकाश शर्माको विकल्प अहिले कांग्रेसले देखेको छैन ।
विशेष महाधिवेशनमा देउवालाई छाडेर गगनलाई साथ दिन आएकी पुष्पा भुसाललाई पनि एकपटक पुनः अवसर दिने तयारी रहेको बुझिएको छ ।
उपसभापति बन्न महालक्ष्मी उपाध्याय डिना‚ भीष्मराज आङ्देम्बेलगायत देउवा छाडेर आएका नेताहरू तछाड–मछाडमा छन् । कतिपयलाई गगनले पदै दिएर सहमतिमा ल्याएका छन् । ‘त्यसैले दुईजना उपसभापति थपेर नेतृत्व व्यवस्थापन गर्ने तयारी पनि भइरहेको छ‚’ कांग्रेस स्रोत भन्छ ।

महामन्त्रीमा भने ‘भीषण’ लडाईं
सभापतिमा गगन थापा निश्चित भएपनि महामन्त्री बन्न भने ‘भीषण’ लडाईं हुने भएको छ । दुई महामन्त्री निर्वाचित हुने पदमा चुनाव लड्ने संख्या ठूलै छ ।
वर्तमान महामन्त्रीद्वय गुरूराज घिमिरे र प्रदीप पौडेल सोही पदमा दोहोरिन चाहेका छन् । तर‚ उनीहरूलाई निर्वाचन जित्न भने सहज नभएको विशेष महाधिवेशनको अगुवाइ गरेका एक नेता दाबी गर्छन् ।
१४ औँ महाधिवेशनबाट सहमहामन्त्री विजयी भएका नेता हुन्, जीवन परियार । उक्त महाधिवेशनमा गगन महामन्त्री विजयी हुँदा उनकै टीमबाट परियार सहमहामन्त्री (दलित क्लस्टर) पदमा विजयी भएका थिए ।
उनीहरू दुवै शेखर कोइराला गुटबाट निर्वाचित भएका थिए । हाल विधान मस्यौदा समितिमा बसेर काम गरिरहेका उनी पनि ‘एक स्थान माथि पदोन्नति’ हुने चाहनामा छन् ।
‘सहमहामन्त्री भएर काम गरिसकेँ । अब महामन्त्री बनेर पार्टीलाई थप योगदान गर्छु‚’ उनले लोकान्तरसँग भने‚ ‘महामन्त्री लड्छु।’
वर्तमान सहमहामन्त्री उदयशमशेर राणा पनि महामन्त्रीका आकांक्षी हुन् । कुनै समय देउवाका विश्वासपात्र उनी पुसमा भएको विशेष महाधिवेशनमा देउवा छाडेर गगनतिर आएका थिए ।
पछिल्लो समय सभापति थापाको विश्वासपात्र भएर काम गरिरहेका उनलाई संस्थापन समूहले महामन्त्री बनाउन चाहेको छ । उनी आफैं भने सभापति र पार्टीले चाहेअनुसार अघि बढ्ने बताउँछन् ।
‘पार्टी एकताको समय छ । नेतृत्व र परिस्थितिले जे चाहन्छ, म त्यही बन्छु । अहिले सहमहामन्त्री भएर काम गरिरहेकै छु‚’ उनी भन्छन् ।
यसबाहेक महामन्त्री पदमा नैनसिंह महर पनि निर्वाचन लड्ने तयारीमा छन् ।
पार्टीको १४ औँ महाधिवेशनपश्चात् नै उनले मिसन महामन्त्री शुरू गरेर तयारी गरेका हुन् । उनलाई डडेल्धुरा कांग्रेसले पनि निर्वाचन जिताउने भन्दै बैठक गरेर निर्णय नै गरिसकेको छ ।
यस्तै, महामन्त्री बन्ने दौडमा नेता सुनिल शर्मा पनि लागेका छन् । डा. शर्मा २०७९ मा मोरङ ३ बाट विजयी प्रतिनिधिसभा सदस्य हुन् । लामो समय कोइराला गुटमा लागेर राजनीति गरेका उनी पछिल्लो समय भने संस्थापन समूहमा लागेका छन् । उनी पनि महामन्त्री बन्न निर्वाचन मैदानमा होमिने भएका हुन् ।

पार्टीको कार्यसम्पादन समिति सदस्य समेत रहेका आङ्गेलु शेर्पाले पनि महामन्त्री लड्ने घोषणा गरेका छन् । यता‚ देउवा समूहमा रहेर विश्वासपात्र हुँदै काम गरेका मीन विश्वकर्मा पनि महामन्त्रीकै तयारीमा रहेका छन् । उनलाई देउवा छाडेर संस्थापन समूहमा आउँदा पदाधिकारी बनाउने भन्ने सहमति भएको कांग्रेस स्रोत दाबी गर्छ ।
१४ औं महाधिवेशनमा शेखर कोइराला प्यानलबाट लुम्बिनी प्रदेशको सभापतिमा निर्वाचित भएका अमरसिंह पुन पनि महामन्त्री लड्ने घोषणा गरिसकेका छन् ।
‘म महामन्त्रीमा लड्ने हो’, पुनले लोकान्तरसँग भने, ‘महाधिवेशन प्रतिनिधि चुनिएपछि जिल्लाबाट काठमाडौं आइसकेँ । थप छलफलहरू भइरहेको छ ।’
यस्तै, १४ औँ महाधिवेशनमा सहमहामन्त्री पदमा निर्वाचन हारेका तर‚ विशेष महाधिवेशनबाट पार्टी प्रवक्ताको भूमिकामा रहेका नेता देवराज चालिसे पनि सहमहामन्त्री पदमा निर्वाचन लड्ने तयारीमा रहेको बताउँछन् । ‘सहमहामन्त्री लडिसकेँ । त्यही पदमा दोहोरिने कुरा आउँदैन । पदोन्नति हुनुपर्यो नै‚’ प्रवक्ता देवराज चालिसे भन्छन् ।
पार्टीमा सभापतिपश्चात् अर्को ‘पावरफूल’ तथा कार्यकारी पद महामन्त्रीको हो । पार्टी विधानको धारा २७ ले महामन्त्रीलाई १२ वटा काम‚ कर्तव्य र अधिकार सुम्पेको छ ।
विधान अनुसार पार्टी केन्द्रीय कार्यालय महामन्त्रीको अन्डरमा हुन्छ ।
यस्तै, पार्टी केन्द्रीय समिति‚ कार्यसम्पादन समितिले गरेका निर्णयहरू कार्यान्वयन गर्ने अधिकार पनि महामन्त्रीकै मातहत हुन्छ ।
पार्टी क्रियाशील सदस्यता वितरण गर्ने लगायतका महत्वपूर्ण जिम्मेवारी महामन्त्रीमा निहीत हुन्छ । उक्त महामन्त्री पदमा निर्वाचित हुन नेताहरूको जोडबल सोही कारण हुने गरेको हो ।
विशेष महाधिवेशनपश्चात् पार्टी एकतालाई थप बलियो बनाउनुपर्ने‚ असन्तुष्ट समूहबाट आएका नेतालाई व्यवस्थापन गर्नुपर्ने‚ विशेष महाधिवेशनमा साथ दिएकालाई पनि सँगै हिँडाउनुपर्ने जस्ता कारण महामन्त्रीको पदमा कम्तीमा एउटा थप्ने विषयमा कांग्रेसभित्र बहस भइरहेको छ, जसले आकांक्षी व्यवस्थापन हुने बुझाइमा सभापति गगन थापा छन् ।





