सर्लाही – नेपाल–भारत खुला सीमाको दुरुपयोग गरी हुनसक्ने आपराधिक गतिविधि तथा अवाञ्छित घुसपैठको जोखिमलाई ध्यानमा राख्दै सर्लाहीका सीमा नाकामा सुरक्षा जाँच कडाइ गरिएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार भारतबाट नेपाल प्रवेश गर्ने यात्रुले अनिवार्य रूपमा आधिकारिक परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरिएको हो । जिल्लाको शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले सीमा नाकामा निगरानी तथा जाँचलाई थप प्रभावकारी बनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।



सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार सीमा नाका हुँदै नेपाल प्रवेश गर्ने प्रत्येक नागरिकले आफ्नो स्पष्ट पहिचान खुल्ने राष्ट्रिय परिचयपत्र, नेपाली नागरिकता वा अन्य आधिकारिक कागजात प्रस्तुत गर्नुपर्नेछ । आवश्यक कागजात देखाएपछि मात्र सुरक्षाकर्मीले प्रवेश अनुमति दिने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
“सीमा क्षेत्रमा हुनसक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न निगरानी र जाँचलाई थप प्रभावकारी बनाउन सुरक्षा निकायलाई स्पष्ट निर्देशन दिइसकिएको छ,” सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले भन्नुभयो ।
यसैबीच, जिल्ला सदरमुकाम मलङ्गवाको अवस्था भने तनावपूर्ण बनेको छ । बिहीबार साँझसम्म सामान्य रहेको मलङ्गवामा शुक्रबार विभिन्न स्थानमा प्रदर्शन सुरु भएपछि बजार पूर्ण रूपमा बन्द गरिएको छ । सम्भावित अप्रिय घटना रोक्न तथा शान्ति सुव्यवस्था कायम गर्न सदरमुकाम क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।
अस्थिर वातावरणका बीच जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई भ्रामक तथा प्रायोजित सूचनाको पछि नलाग्न आग्रह गरेको छ । प्रशासनले आधिकारिक निकायबाट जारी हुने सूचनालाई मात्र आधार मान्न आग्रह गर्दै सीमा नाकाबाट आवतजावत गर्ने यात्रुलाई आवश्यक आधिकारिक कागजात साथमा राख्न र सुरक्षाकर्मीको जाँचमा सहयोग गर्न अनुरोध गरेको छ ।





