जनकपुरधाम । सुनसरीको देवानगञ्ज तथा मधेश प्रदेशका विभिन्न जिल्लामा हालै भएका साम्प्रदायिक हिंसाका घटनाप्रति गैरसरकारी संस्था प्रो पब्लिकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संस्थाले हिंसाका कारण उत्पन्न तनाव, मानवीय तथा सामाजिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न सबै पक्षसँग संयम अपनाउन आग्रह गरेको छ।
शुक्रबार जारी विज्ञप्तिमा प्रो पब्लिकले नेपालको संविधानले प्रत्याभूत गरेका मानव अधिकार, धार्मिक स्वतन्त्रता, समानता र सामाजिक सद्भावका मूल्य तथा मान्यतामाथि कुनै पनि प्रकारको हिंसा, घृणा वा विभाजनकारी गतिविधि स्वीकार्य हुन नसक्ने उल्लेख गरेको छ।



संस्थाले विविधता नै नेपालको राष्ट्रिय पहिचान र साझा शक्ति भएको उल्लेख गर्दै अफवाह फैलाउने, घृणाजन्य अभिव्यक्ति दिने तथा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिबाट टाढा रहन सबैमा अपिल गरेको छ। साथै संवाद, आपसी विश्वास र मेलमिलापका माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ।
प्रो पब्लिकले नेपाल सरकार, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्पूर्ण समुदायलाई मानव अधिकार, विधिको शासन, धार्मिक सहिष्णुता र सामाजिक एकताको संरक्षणमा जिम्मेवार तथा संवेदनशील भूमिका निर्वाह गर्न आग्रह गरेको छ। संस्थाले यस्ता घटनाको पुनरावृत्ति हुन नदिन सबै सरोकारवालाबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ।
विज्ञप्तिमा घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी छानबिन गरी दोषीमाथि कानुनबमोजिम निष्पक्ष कारबाही गर्न, प्रभावित समुदायको सुरक्षा, न्याय तथा पुनःस्थापनाको सुनिश्चितता गर्न सरकारसँग माग गरिएको छ। साथै दीर्घकालीन सामाजिक सद्भाव कायम गर्न स्थानीय समुदाय, नागरिक समाज, धार्मिक अगुवा, राजनीतिक दल र राज्यका निकायबीच निरन्तर संवाद, विश्वास निर्माण र सहकार्यलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।
प्रो पब्लिकले “शान्ति, सहिष्णुता र सामाजिक सद्भाव लोकतान्त्रिक समाजका आधारस्तम्भ हुन्। यी मूल्यहरूको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।” भन्दै सबै नागरिकलाई शान्ति, संयम र आपसी सम्मानको संस्कृतिलाई बलियो बनाउन आह्वान गरेको छ।





