धनुषा । धनुषाको बटेश्वर गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको छ । पालिकाभित्रका ९८.३ प्रतिशत नागरिक साक्षर भएको दाबीसहित शुक्रबार बटेश्वर गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो । “शिक्षित नागरिक, समृद्ध बटेश्वर, हाम्रो साझा संकल्प” भन्ने नारासहित आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष रामअशिष महतोले बटेश्वरलाई साक्षर गाउँपालिका घोषणा गर्नुभयो ।
त्यस अवसरमा उहाँले नेपाल सरकारले निर्धारण गरेको साक्षर पालिका घोषणासम्बन्धी मापदण्ड पूरा गर्दै गाउँपालिकालाई साक्षर घोषणा बताउनुभयो । उहाँले अक्षर नचिन्ने, आफ्नो नाम लेख्न तथा हस्ताक्षर गर्न नसक्ने व्यक्तिलाई सामान्य अक्षर चिन्न सक्ने तथा आफ्नो नाम लेख्न सक्ने बनाइएको जानकारी दिनुभयो ।




उहाँले चारवटा माध्यमिक विद्यालय तथा सरोकारवाला निकायको समन्वयमा पाँचवटै वडामा निरक्षर नागरिकको पहिचान, तथ्याङ्क सङ्कलन, साक्षर शिक्षा सञ्चालन, तथा मूल्याङ्कन गरिएको बताउनुभयो ।
उहाँका अनुसार गाउँपालिकाको कुल २२ हजार दुई जनसङ्ख्यामध्ये २१ हजार ५७७ जना अर्थात् ९८ प्रतिशत नागरिक साक्षर रहेका थिए । अभियान सञ्चालनपछि गरिएको अद्यावधिक अभिलेखअनुसार साक्षर नागरिकको सङ्ख्या २१ हजार ६३७ पुगेको छ । जुन कुल जनसङ्ख्याको ९८.३ प्रतिशत हो । सोही उपलब्धिका आधारमा गाउँ कार्यपालिकाको निर्णयअनुसार साक्षर घोषणा गरिएको अध्यक्ष महतोले दाबी गर्नुभयो ।
अध्यक्ष महतोले साक्षरता अभियान सफल बनाउन सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी, विद्यालय, शिक्षक, विद्यार्थी तथा सम्पूर्ण गाउँवासीप्रति आभार व्यक्त गर्दै प्राप्त उपलब्धिलाई दिगो बनाउन निरन्तर शिक्षा तथा सीपमूलक सिकाइका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष फूलकुमारी सिंह, शिक्षा विकास तथा समन्वय एकाइ धनुषाका शाखा अधिकृत उमेश कुमार मुखिया, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद पौडेल तथा शिक्षा अधिकृत रामलाल महतोलगायतले साक्षरता अभियानलाई निरन्तरता दिँदै जीवनोपयोगी शिक्षा र आजीवन सिकाइका कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।





