जनकपुरधाम – जनकपुर रिफाइनरीले भुस खरिदबापतको करिब ५० लाख रूपैयाँ भुक्तानी नगरेको प्रकरणमा चारजनाविरुद्ध ठगी मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले साउन २० गते जनकपुर रिफाइनरीसँग सम्बन्धित चारजनाविरुद्ध ठगी तथा विश्वासघात सम्बन्धी मुद्दा दर्ता गरेको हो। मुद्दा दर्तापछि उनीहरूविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको छ।



पक्राउ पुर्जी जारी हुनेमा जनकपुर रिफाइनरीका सञ्चालक वर्ष ३५ कि रइसा टिवडेवाल, ४० वर्षीय उनका पति एव कम्पनीका प्रबन्धक विनित अग्रवाल, ४५ वर्षकै सन्चालिकाका दाइ रोमिल टिवडेवाल र कम्पनीका पर्चेज डाइरेक्टर मुन्ना कुमार सिंह (राकेश) वर्ष ३५ का रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार चारैजनाविरुद्ध जिल्ला अदालत धनुषाबाट पक्राउ पुर्जीको अनुमति प्राप्त भइसकेको छ। उनीहरू हाल फरार रहेको र प्रहरीले खोजी गरिरहेको छ ।
धनुषा प्रहरीका प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेले चारैजनाको खोजी कार्य जारी रहेको नेपाल प्रेसलाई जानकारी दिए ।
यसअघि जनकपुर रिफाइनरीले भुस खरिद गरेबापत करिब ५० लाख रूपैयाँ भुक्तानी नगरेको विषय सार्वजनिक भएको थियो । नेपाल प्रेसलाई प्राप्त कम्पनीको आन्तरिक सप्लायर लेजरमा रोशन भुसा खरिद बिक्री केन्द्रको नाममा ४९ लाख ४९ हजार ८ सय ८३ रुपैयाँ ५० पैसा बक्यौता देखिएको थियो ।
भुस आपूर्तिकर्ताका अनुसार जनकपुर रिफाइनरीको आग्रहमा स्थानीय किसानबाट भुस खरिद गरी उद्योगमा आपूर्ति गरिएको थियो । सुरूमा नियमित भुक्तानी हुँदै आए पनि कारोबार बढ्दै गएपछि रकम भुक्तानी रोकिएको आरोप छ । बक्यौता रकम माग्दा उद्योग प्रवेशमा समेत रोक लगाइएको आपूर्तिकर्ताको आरोप थियो ।
मुद्दा दर्ता भएसँगै अब प्रहरीले फरार रहेका चारैजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाउने तयारी गरेको छ । यसैबीच, पक्राउ पुर्जी जारी भएका मुन्नाकुमार सिंह (राकेश) ढल्केवर उद्योग वाणिज्य संघका अध्यक्षसमेत हुन् ।




