काठमाडौँ – नेपाली कांग्रेसले आफ्नो १५ औँ केन्द्रीय महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी २०८३ असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो ।
बी.पी. स्मृति भवन, ललितपुरमा बसेको निर्वाचन समितिको बैठकले पार्टीको विधानको धारा ३५ (२) (च) बमोजिम विभिन्न तह र निकायको निर्वाचन तालिका तय गरेको हो । यसअघि बसेको केन्द्रीय कार्यसमितिको बैठकले संविधान, प्रचलित कानुन र पार्टी विधानलाई मध्यनजर गर्दै महाधिवेशनको मिति तय गरेको विज्ञप्तिमा उल्लेख छ ।



निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार तल्लो तहदेखि केन्द्रसम्मको अधिवेशन निम्न मितिमा हुनेछ:
वडा अधिवेशन: २०८३ भदौ २४ गते (देशभरका ६७४३ वटै वडामा)
गाउँ/नगरपालिका अधिवेशन: २०८३ भदौ २७ गते
प्रदेश सभा क्षेत्रीय अधिवेशन: २०८३ भदौ ३१ गते
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र क्षेत्र भएका जिल्लाको अधिवेशन: २०८३ असोज ३ गते
जिल्ला अधिवेशन: २०८३ असोज ७ गते
प्रदेश अधिवेशन: २०८३ असोज १० गते
केन्द्रीय महाधिवेशन: २०८३ असोज १६, १७, १८ र १९ गते
कार्यतालिका अनुसार निर्वाचन प्रतिनिधिहरूलाई भदौ २ देखि १० गतेसम्म अभिमुखीकरण तालिम दिइनेछ भने भदौ ११ गते निर्वाचन अधिकृतहरूलाई जिल्लामा खटाइनेछ । वडामा निर्वाचन प्रतिनिधि खटाउने काम भदौ १५ गते हुने र १६ देखि २० गतेसम्म वडामा अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने समितिले जनाएको छ।
साथै, बाँकी रहेका नेपाली जनसम्पर्क समितिका अधिवेशनहरू भदौ मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ । यसअघि नै अमेरिका, फ्रान्स, नेदरल्याण्ड, जापान, दक्षिण कोरिया लगायतका १५ वटा देशमा जनसम्पर्क समितिको अधिवेशन सम्पन्न भइसकेको विज्ञप्तिमा उल्लेख छ ।
वर्षातको मौसम र पार्टीभित्रको आन्तरिक छलफलका कारण केही समय थप गरी परिमार्जित तालिका ल्याइएको निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए।






