महोत्तरी – महोत्तरीको गौशाला नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको लगत सङ्कलन, पहिचान, प्रमाणीकरण र जग्गा उपलब्ध गराउने प्रक्रिया पारदर्शी तथा निष्पक्ष बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगर समितिले पहल थालेको छ।
रास्वपा गौशाला नगर समितिले नगरपालिकाका १२ वटै वडा कार्यालयमा आधिकारिक परिपत्र दर्ता गराउँदै भूमिहीनसम्बन्धी काममा वडास्तरीय सहजीकरण समितिमा मनोनित आफ्ना प्रतिनिधिलाई अनिवार्य सहभागी गराउन आग्रह गरेको हो।



नगर अध्यक्ष ज्ञानेन्द्रप्रसाद गुप्ताको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सबै वडा कार्यालयमा पुगेर परिपत्र बुझाएको जनाएको छ। नगर समितिको सर्वसम्मत निर्णयअनुसार वडा नं. १ देखि १२ सम्म सहजीकरण समितिमा प्रतिनिधि मनोनयन गरिएको छ।
वडा नं. १ मा ईश्वरबहादुर कार्की, वडा नं. २ मा रामकुमार चौधरी, वडा नं. ३ मा सिम्लेश यादव, वडा नं. ४ मा हरिप्रसाद काफ्ले, वडा नं. ५ मा सुनिलचन्द्र झा, वडा नं. ६ मा सन्तोष यादव, वडा नं. ७ मा अब्दुल हसन शेख, वडा नं. ८ मा रामेश्वरसिंह महतो, वडा नं. ९ मा इन्द्रजित महतो, वडा नं. १० मा नानुकुलाल महतो, वडा नं. ११ मा जितेन्द्र चौधरी र वडा नं. १२ मा विलास महतो मनोनित हुनुभएको छ।
परिपत्र दर्तापछि नगर अध्यक्ष गुप्ताले वास्तविक भूमिहीन, दलित तथा सुकुम्बासीले न्याय पाउने गरी जग्गा वितरण प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभयो। उहाँले भूमिहीनको लगत सङ्कलनदेखि पहिचान, प्रमाणीकरण, बैठक तथा निर्णय प्रक्रियासम्मका सबै चरण पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो।
“वर्षौँदेखि ओझेलमा परेका वास्तविक सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोवासीले पाउनुपर्ने हकअधिकार सुनिश्चित हुनुपर्छ। लालपुर्जा वितरण प्रक्रिया राजनीतिक प्रभाव र अनियमितताबाट मुक्त राखिनुपर्छ,” उहाँले भन्नुभयो।
परिपत्रमा प्रचलित कानुनी व्यवस्थाअनुसार मनोनित प्रतिनिधिहरूलाई वडास्तरीय सहजीकरण समितिको बैठक तथा अन्य प्रक्रियामा अनिवार्य सहभागी गराई आवश्यक जिम्मेवारी प्रदान गर्न वडा अध्यक्षहरूसँग आग्रह गरिएको छ।
रास्वपा नगर समितिले राजनीतिक दलका प्रतिनिधिको सहभागिता र सूचनामा सहज पहुँचले भूमिहीनको पहिचान तथा जग्गा वितरण प्रक्रियालाई थप निष्पक्ष र विश्वसनीय बनाउन सहयोग पुग्ने जनाएको छ।




