काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले छठ पर्वपछि मधेशमा रास्वपाका सांसदविरुद्ध जनआक्रोश बढ्न सक्ने चेतावनी दिएका छन् ।
पार्टी सभापति रवि लामिछानेको निर्देशनमा बुधबार आयोजित पार्टी, सांसद तथा मन्त्रीहरूको छलफलमा बोल्दै सिंहले मधेशमा पछिल्लो समय बढ्दै गएको असन्तुष्टिले आगामी दिनमा समस्या निम्त्याउन सक्ने बताएका हुन् ।



सीमामा गरिएको कडाइका कारण मधेशका नागरिकको दैनिक जीवन प्रभावित भइरहेको उनको भनाइ थियो ।
सीमापारबाट सामान ल्याउँदा निश्चित सीमासम्म भन्सार महसुल छुट भए पनि त्यसभन्दा बढीको सामानमा भन्सार शुल्क लिन थालेपछि मधेसमा विरोध भएको उनले उल्लेख गरे ।
यस विषयमा सर्वोच्च अदालतमा रिटसमेत परेको र अदालतले नागरिकसँग सम्मानजनक व्यवहार गर्न अन्तरिम आदेश दिएको उनले बताए ।
व्यापक विरोधपछि सरकारले उक्त व्यवस्थामा केही खुकुलो बनाएको भए पनि सरकारका निर्णयप्रति असन्तुष्टि कायमै रहेको सिंहको भनाइ थियो ।
सरकारले विभिन्न विषयमा गल्ती गरिरहेको दाबी गर्दै उनले आफूलाई एक साताको समय दिए सरकारका सयवटा गल्ती देखाइदिन सक्ने बताएका थिए ।
सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित रास्वपा सांसद सिंहले मधेशमा जनताको असन्तुष्टि बढ्दै गए रास्वपाका सांसदहरूलाई नै त्यसको प्रत्यक्ष सामना गर्नुपर्ने चेतावनी दिएका हुन् ।




