शर्मिला घिमिरे
महोत्तरी । नेपाली कम्युनिस्ट पार्टी, जिल्ला कार्य समिति महोत्तरीले जनजीविकासँग प्रत्यक्ष जोडिएका समस्या तत्काल समाधान गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ।



पार्टीका जिल्ला इन्चार्ज प्रकाशहरि पोखरेल र संयोजक लालेन्द्रकुमार मण्डलको नेतृत्वमा जलेश्वरस्थित जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा वर्तमान सरकारको कार्यशैलीप्रति आमजनतामा चिन्ता र असन्तुष्टि बढ्दै गएको उल्लेख गर्दै दैनिक जीवनसँग जोडिएका समस्या तत्काल सम्बोधन गर्न माग गरिएको छ।
मुख्य बाली लगाउने समयमा किसानले पर्याप्त रासायनिक मल पाउन नसकेको भन्दै पार्टीले सहुलियत दरमा पर्याप्त मल उपलब्ध गराउन माग गरेको छ। त्यस्तै बजारमा एलपी ग्यासको सहज आपूर्ति हुन नसकेको र कालोबजारीका कारण सर्वसाधारणले समस्या भोग्नुपरेको भन्दै पारदर्शी र सहज वितरण व्यवस्था मिलाउन आग्रह गरिएको छ।
दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि र कृत्रिम अभाव नियन्त्रण गर्न प्रभावकारी बजार अनुगमन गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा गरिएको छ। मूल्यवृद्धि र अभावको प्रत्यक्ष असर किसान, मजदुर, गरिब तथा विपन्न वर्गमा परेको पार्टीको भनाइ छ।
पार्टीले विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गरी नियमित र गुणस्तरीय सेवा सुनिश्चित गर्नुपर्ने तथा विद्युत्मा लगाइएको पाँच प्रतिशत कर खारेज गरी सहुलियत दरमा विद्युत् उपलब्ध गराउनुपर्ने माग गरेको छ।
शिक्षाको क्षेत्रमा विपन्न परिवारका बालबालिका प्रभावित भइरहेकाले छात्रवृत्तिलगायत आवश्यक व्यवस्था गर्नुपर्ने माग गरिएको छ। भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गरी उचित बसोबासको व्यवस्था र जग्गाधनी पुर्जा वितरण गर्न पनि सरकारसँग आग्रह गरिएको छ।
त्यसैगरी विकास निर्माणका आयोजनामा हुने ढिलासुस्ती, अनियमितता र कमिसनतन्त्र अन्त्य गरी आयोजना समयमै सम्पन्न गर्नुपर्ने माग गरिएको छ। सरकारी कार्यालय तथा अस्पतालमा सेवाग्राहीले घण्टौँ लाइन बस्नुपर्ने अवस्था अन्त्य गर्दै सार्वजनिक सेवामा डिजिटल तथा अनलाइन प्रणाली विस्तार गर्नुपर्ने पार्टीको माग छ।
ज्ञापनपत्रमा स्वास्थ्य बिमा कार्यक्रमलाई जिल्लाका सबै क्षेत्रमा प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने, जङ्गली जनावरबाट बालीमा हुने क्षतिको दीर्घकालीन समाधान खोज्दै पीडित किसानलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसमेत गरिएको छ।
सीमावर्ती क्षेत्रका नेपाली नागरिकले दैनिक उपभोग्य सामग्री ल्याउँदा सीमा नाकामा भोग्नुपरेको अनावश्यक सास्ती अन्त्य गर्नुपर्ने माग पनि पार्टीले राखेको छ। चाडपर्व तथा रीतिरिवाजका नाममा हुने डीजे, बाजा तथा अन्य ध्वनि प्रदूषण नियन्त्रण गर्नुपर्ने र गाँजा, चरेस तथा अन्य लागुऔषधको अवैध ओसारपसार नियन्त्रण गर्नुपर्ने माग गरिएको छ।
ज्ञापनपत्र बुझाउँदै पार्टीका प्रतिनिधिले जनताका मागलाई बेवास्ता गरिए थप दबाबमूलक कार्यक्रमसहित आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्। पार्टीले ज्ञापनपत्रमार्फत उठाएका विषय जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएकाले तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको जनाएको छ।






