जनकपुरधाम । डिजिटल प्रविधिको प्रयोगमार्फत मधेश प्रदेशका बालबालिकालाई बदलिँदो समयअनुकूल ज्ञान, सीप र सिर्जनशीलतासहित भविष्यका लागि तयार पार्ने प्रयास थालिएको छ । प्रविधिमा आधारित सिकाइसँगै समस्या समाधान, सिर्जनशील सोच, प्रयोगात्मक अभ्यास र व्यावहारिक सीप विकासलाई जोड दिँदै बालबालिकालाई भविष्यका अवसरसँग जोड्ने काम भइरहेको हो ।
सेभ द चिल्ड्रेन नेपालले कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (KOICA) को साझेदारीमा सञ्चालन गरिरहेको पाँच वर्षे इन्सपाइर (INSPIRE) परियोजनामार्फत मधेशका सामुदायिक विद्यालयमा यस्तो अभ्यास अघि बढाइएको छ । परियोजनाले डिजिटल सिकाइलाई विद्यालय शिक्षाको अभिन्न हिस्सा बनाउँदै बालबालिका तथा युवालाई भविष्यमा आवश्यक पर्ने सीप विकासका अवसर उपलब्ध गराइरहेको छ ।




परियोजनाको पहिलो वर्ष पूरा भएको अवसरमा काठमाडौँमा आयोजित ‘INSPIRE: One Year of Learning, Partnership, and Progress’ कार्यक्रममा परियोजनामार्फत हासिल भएका उपलब्धि, सिकाइ र आगामी योजनाबारे जानकारी दिइएको थियो । कार्यक्रममा परियोजनाअन्तर्गतका विद्यालयका विद्यार्थी, नेपाल सरकार तथा मधेश प्रदेश सरकारका प्रतिनिधि, KOICA, सेभ द चिल्ड्रेन कोरिया, शिक्षा क्षेत्रका सरोकारवाला, विकास साझेदार तथा स्थानीय तहका प्रतिनिधिको सहभागिता थियो ।

INSPIRE परियोजना मधेश प्रदेशका बारा र महोत्तरी जिल्लाका पाँच स्थानीय तहमा सञ्चालन भइरहेको छ । बाराका देवताल गाउँपालिका, करैयामाई गाउँपालिका र महागढीमाई नगरपालिका तथा महोत्तरीका औरही नगरपालिका र लोहारपट्टी नगरपालिकाका विद्यालय तथा समुदाय परियोजनाबाट लाभान्वित भइरहेका छन् ।
परियोजनाअन्तर्गत बाराका सात माध्यमिक विद्यालयमा कम्प्युटर, स्मार्ट बोर्ड, वैकल्पिक विद्युत् प्रणाली तथा विभिन्न विद्युतीय सामग्रीसहितका टेक ल्याब र मेकर स्पेस स्थापना गरिएको छ । यी संरचनाले विद्यार्थीलाई प्रविधि प्रयोग गरेर नयाँ कुरा सिक्ने, आफ्ना विचारलाई नमूनामा विकास गर्ने, परीक्षण गर्ने र समस्या समाधान गर्ने अवसर प्रदान गरेका छन् ।
बाराका विद्यार्थीले कृषिको अनुगमनमा ड्रोन प्रविधिको प्रयोग गर्नुका साथै थ्रिडी (3D) प्रिन्टरबाट आफ्ना अवधारणालाई उपयोगी नमूनामा रूपान्तरण गर्ने अभ्यास गरिरहेका छन् । यसले विद्यार्थीलाई केवल प्रविधि चलाउन सिकाउने नभई प्रविधिलाई समस्या समाधान र सिर्जनाका लागि कसरी प्रयोग गर्ने भन्ने व्यावहारिक ज्ञानसमेत दिइरहेको छ ।

सेभ द चिल्ड्रेन नेपाल तथा भुटानका कन्ट्री डाइरेक्टर तारा क्षेत्रीले मेकर स्पेस बालबालिकाले प्रयोग गर्ने, सिर्जना गर्ने, गल्तीबाट सिक्ने र पुनः प्रयास गर्ने स्थानका रूपमा विकास भइरहेको बताउनुभयो । अनुभवमा आधारित सिकाइले बालबालिकाको सोच, सिर्जनशीलता र आत्मविश्वास विकास गर्नुका साथै विद्यालयप्रतिको रुचि बढाउन सहयोग गर्ने उहाँको भनाइ थियो ।
परियोजनाले डिजिटल प्रविधिमा मात्र केन्द्रित नभई शिक्षाको समग्र गुणस्तर सुधारमा पनि जोड दिएको छ । शिक्षकको क्षमता विकास, सिकाइमा कमजोर विद्यार्थीका लागि अतिरिक्त सहयोग, घरमा आधारित सिकाइ, विद्यालय उपस्थितिको व्यवस्थापन, छात्रवृत्ति सहायता तथा किशोरकिशोरी र युवाका लागि व्यावसायिक सीप विकासका अवसरसमेत परियोजनाले उपलब्ध गराइरहेको छ ।

महोत्तरीमा अभिभावक तथा स्याहारकर्तालाई बालबालिकाको घरमै सिकाइमा सहयोग गर्ने उपायबारे जानकारी तथा सहयोग प्रदान गरिएको छ । विद्यालय, परिवार र समुदायलाई सिकाइ प्रक्रियासँग जोडेर बालबालिकाको सिकाइ निरन्तरता कायम गर्ने प्रयास भइरहेको परियोजनाले जनाएको छ ।
महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादवले शिक्षा विद्यालय भवन र परीक्षामा मात्र सीमित नरहेको बताउनुभयो । सामुदायिक विद्यालयका बालबालिकाले प्रविधिको प्रयोग गर्न, प्रश्न गर्न र व्यवहारिक सीप सिक्न थालेपछि शिक्षामा नयाँ सम्भावना देखिएको उहाँको भनाइ थियो ।
शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव शंकरप्रसाद अधिकारीले आधारभूत तहमा गरिएको लगानीबाट शिक्षामा दीर्घकालीन परिवर्तन सम्भव हुने बताउनुभयो । पहुँच, गुणस्तर, समावेशिता र डिजिटल शिक्षामा तीनै तहका सरकार केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

KOICA नेपालका कन्ट्री डाइरेक्टर मू हों कोंले बदलिँदो विश्वको आवश्यकताअनुसार शिक्षालाई अघि बढाउन गुणस्तरीय शिक्षा, डिजिटल रूपान्तरण र रोजगारीका लागि आवश्यक सीपलाई एकसाथ जोड्नुपर्ने बताउनुभयो । बालबालिकालाई आधारभूत सिकाइसँगै प्रविधि, समस्या समाधान र भविष्यमा आवश्यक पर्ने सीपसँग परिचित गराउनुपर्ने उहाँको भनाइ थियो ।
सेभ द चिल्ड्रेन कोरियाका बोर्ड अध्यक्ष जुन ओले INSPIRE परियोजनाको पहिलो वर्षले साझेदारीमार्फत बालबालिकाका लागि नयाँ सम्भावना सिर्जना गर्न सकिने देखाएको बताउनुभयो । प्रविधिको प्रयोगबाट बालबालिकामा विकास हुने आत्मविश्वास, सिर्जनशीलता र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताले उनीहरूलाई भविष्यका लागि तयार पार्ने उहाँको भनाइ थियो ।
परियोजना कार्यान्वयनमा बारा जिल्लाको जन जागरण युवा क्लब तथा महोत्तरीको सामुदायिक विकास तथा पैरवी मञ्च नेपाललगायत स्थानीय गैरसरकारी संस्थाले विद्यालय, परिवार, समुदाय र स्थानीय सरकारसँग समन्वय गरिरहेका छन् ।
INSPIRE परियोजनाको आगामी चरणमा मधेशमा गरिबी, सिकाइ क्षति, विद्यालयका सीमित पूर्वाधार, प्रविधिमा असमान पहुँच तथा जलवायुजन्य अवरोधलाई सम्बोधन गर्ने लक्ष्य राखिएको छ । स्थानीय सरकार, विद्यालय, परिवार र समुदायसँगको सहकार्यलाई निरन्तरता दिँदै डिजिटल प्रविधिमा समावेशी पहुँच, अनुभवमा आधारित सिकाइ, शिक्षक सहयोग र भविष्यका सीप विकासलाई थप सुदृढ बनाउने परियोजनाले जनाएको छ ।
यसबाट मधेशका सामुदायिक विद्यालयका बालबालिकालाई परम्परागत सिकाइमा मात्र सीमित नराखी डिजिटल प्रविधिको ज्ञान, सिर्जनात्मक सोच, समस्या समाधान गर्ने क्षमता र व्यावहारिक सीपसहित भविष्यका अवसरका लागि तयार पार्ने आधार निर्माण हुने अपेक्षा गरिएको छ ।





