महोत्तरी – श्रावण शुक्ल पूर्णिमाका अवसरमा तराई–मधेशसहित मिथिलाञ्चल क्षेत्रमा आज रक्षाबन्धन पर्व श्रद्धा र उल्लासका साथ मनाइँदै छ।
श्रावण शुक्ल पूर्णिमालाई जनै पूर्णिमा तथा ऋषितर्पणीका रूपमा समेत मनाउने धार्मिक परम्परा रहेको छ। यस दिन तागाधारी समुदायका व्यक्तिले वैदिक विधिअनुसार नयाँ जनै धारण गर्नुका साथै रक्षासूत्र (डोरो) बाँध्ने चलन छ। वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवीत तथा रक्षासूत्र आफूभन्दा ज्येष्ठ व्यक्ति वा आचार्यको हातबाट लगाउने परम्परा रहेको छ।




धार्मिक मान्यताअनुसार पूर्णिमाको दिन बिहान सूर्योदयअघि उठी स्नान गरी पूजा–आराधना गर्ने चलन छ। अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिको पूजा तथा तर्पण गरिने भएकाले यस दिनलाई ऋषितर्पणीसमेत भन्ने गरिन्छ।
तराई–मधेश तथा मिथिलाञ्चल क्षेत्रमा भने रक्षाबन्धन पर्वलाई विशेष महत्वका साथ मनाउने गरिन्छ। दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधेर एकअर्काको सुख, समृद्धि र दीर्घायुको कामना गर्ने परम्परा छ। यस पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र पारिवारिक सम्बन्ध थप प्रगाढ बनाउने सामाजिक मान्यता रहेको छ।

राखी बाँधेपछि दाजुभाइले आफ्नो क्षमताअनुसार दिदीबहिनीलाई कोसेली तथा दानदक्षिणा दिने चलनसमेत छ। यस अवसरमा बजार क्षेत्रमा विभिन्न प्रकारका राखी, मिठाइ तथा पूजाका सामग्रीको खरिदबिक्री बढ्ने गरेको छ।
रक्षाबन्धनकै अवसरमा विभिन्न प्रकारका गेडागुडी मिसाएर तयार पारिएको क्वाँटी खाने परम्परा पनि रहेको छ। धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार क्वाँटी खानाले शरीरमा ऊर्जा प्राप्त हुनुका साथै वर्षायाममा खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो हट्ने विश्वास गरिन्छ। क्वाँटी स्वास्थ्यका दृष्टिले पनि पौष्टिक खाद्य पदार्थका रूपमा लिइन्छ।
रक्षाबन्धनले धार्मिक आस्था, पारिवारिक आत्मीयता र मिथिला संस्कृतिको मौलिक परम्परालाई निरन्तरता दिँदै आएको छ।




