महोत्तरी – देशका विभिन्न भागमा स्थानीय समुदायबीच देखिएको असमझदारीका कारण उत्पन्न असामान्य परिस्थितिप्रति औरही नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
औरही नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार खड्काले जारी गर्नुभएको अपिलमा हालैका दुःखद घटनामा परी ज्यान गुमाएका नेपाली नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ । घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेको निःशुल्क उपचारको व्यवस्था तत्काल गर्न नेपाल सरकारसँग आग्रह गरिएको छ ।



अपिलमा नेपाली समाज परापूर्वदेखि नै आपसी सद्भाव, सहिष्णुता, भाइचारा र परस्पर सम्मानका साथ अघि बढ्दै आएको उल्लेख गरिएको छ । धर्मले समाजलाई जोड्ने र प्रेम तथा सद्भाव अभिवृद्धि गर्ने भएकाले कुनै पनि घटनालाई आधार बनाएर समुदायविशेषलाई आरोपित गर्नु उचित नहुने नगरपालिकाको भनाइ छ ।
पछिल्लो समय तराई–मधेशका केही स्थानमा सामाजिक तथा धार्मिक सहिष्णुतामा खलल पार्ने गतिविधि देखिएकाले स्थानीयवासी, नागरिक समाज तथा सरोकारवालालाई सजग र संवेदनशील बन्न अपिल गरिएको छ ।कुनै एक स्थानमा भएको घटनालाई लिएर सिङ्गो समुदायलाई दोषारोपण गर्नु न्यायसङ्गत नहुने उल्लेख गर्दै नगरपालिकाले सामाजिक सहिष्णुता, शान्ति र सुरक्षा कायम गर्न सबै पक्षले संयमता अपनाउनुपर्नेमा जोड दिएको छ ।
नगर प्रमुख खड्काले अपिलमार्फत औरही नगरपालिकाका नागरिक, विभिन्न समुदाय, नागरिक समाज, राजनीतिक दल, जनप्रतिनिधि, धर्मगुरु, सञ्चारकर्मी तथा प्रबुद्ध वर्गलाई धैर्य र संयमता अपनाउन आग्रह गर्नुभएको छ । साथै धार्मिक तथा सामाजिक सद्भाव कायम राख्दै शान्ति, भाइचारा र राष्ट्रिय एकता अक्षुण्ण राख्न सबैमा अपिल गरिएको छ ।





