सुजाता राई
विराटनगर । भद्रपुर पुस्तकालय, भद्रपुर झापाको आयोजनामा मुक्तककार लता खरेलको ‘शिशिरको जून’ मुक्तक सङ्ग्रह र बालकवि सफलता फुयालको कविता सङ्ग्रह ‘आभा’ सार्वजनिक गरिएको छ।



शनिबार वीरेन्द्र माध्यमिक विद्यालय, चन्द्रगढीको सभाहलमा भद्रपुर पुस्तकालयका अध्यक्ष प्रा. चिन्तामणि दाहालको सभापतित्व तथा विराटनगर प्राज्ञ प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा दुवै कृति लोकार्पण गरिएको हो।

कार्यक्रममा सभापति दाहाल, प्रमुख अतिथि पोखरेल, विशिष्ट अतिथि समालोचक प्राध्यापक कविराज न्यौपाने, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की तथा लता खरेलका माता–पिता र सासू-ससुरालगायत मञ्चासीन अतिथिहरूले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए।
लोकार्पित कृतिमध्ये ‘शिशिरको जून’ मुक्तक सङ्ग्रहको समीक्षा समीक्षक प्रा. चूडामणि वशिष्ठले र ‘आभा’ कविता सङ्ग्रहको समीक्षा समालोचक नमुना निरौला दाहालले गरेकी थिइन्।

कार्यक्रममा ‘शिशिरको जून’ बाट मुक्तककार कृष्ण सुवेदी ‘निराकार’, रोमु अधिकारी, लक्ष्मी रायमाझी र उमेश लुइँटेलले मुक्तक वाचन गरेर सुनाए । ‘आभा’ बाट कविहरू साङसेन पान्धाक, सुभद्रा भट्टराई, निर्मला कोइराला, हरि कट्टेललगायतले कविता वाचन गरेका थिए।
कार्यक्रममा मुक्तककार केशव आचार्य, समालोचक डा. रत्नमणि नेपाल, मुक्तककार बाबुराम पोखरेल, लेखक केशु विरहीलगायतले शुभकामना व्यक्त गरे।
सो अवसरमा नेपाली साहित्यको कविता, मुक्तक, गीत, गजल र कथा विधामा लामो समयदेखि योगदान पुर्याउँदै आएका प्राज्ञ विवश पोखरेल, मुक्तककार केशव आचार्य र लीला लेखनका अभियन्ता डा. रत्नमणि नेपाललाई सम्मानपत्र, दोसल्ला र फूलमालासहित सम्मान गरिएको थियो।
‘शिशिरको जून’ मुक्तक सङ्ग्रहमा १८८ वटा मुक्तक तथा ‘आभा’ कविता सङ्ग्रहमा विविध विषयका ३० वटा कविता समावेश छन्। दुवै कृतिमा कवि तथा समालोचक विवश पोखरेलको भूमिका रहेकोछ भने ‘आभा’ मा वरिष्ठ कवि डा. विष्णुविभू घिमिरे र वरिष्ठ मुक्तककार उषा शेरचनको शुभकामना समेटिएको छ।

‘शिशिरको जून’ का प्रकाशक विक्रम फुयाल र ‘आभा’ का प्रकाशक सफलता फुयालका आमाबुबा लता खरेल र विक्रम फुयाल रहेका छन्। दुवै स्रष्टा आमा-छोरी हुन्। मुक्तककार खरेल दुर्गा माध्यमिक विद्यालयकी शिक्षिका हुन् भने फुयाल वीरेन्द्र माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छिन्।
कृति विमोचनमा बाल कवि सफलता फुयालको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रम सञ्चालन पत्रकार-कवि लीला अनमोल र तुलसीराम खरेलले गरेका थिए ।




