जनकपुरधाम । जनकपुरधामस्थित श्री महावीर युवा कमिटीले रसुवामा गएको विनाशकारी बाढीपहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १ लाख २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
कमिटीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गर्ने जनाएको हो ।



विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला प्रभावित नागरिकको राहत र उद्धारमा सहयोग पुर्याउने उद्देश्यले कमिटीले आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।
कमिटीका महासचिव भरत कुमार साहले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सबैको सामाजिक दायित्व भएको बताए ।
उनले भने, ‘विपद्मा परेका नागरिकलाई राहत र उद्धारका लागि सहयोग गर्नु मानवताको धर्म हो । संकटको यस घडीमा पीडित परिवारलाई केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले कमिटीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।’
महासचिव साहले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको जीवन सामान्य बनाउन राज्यसँगै सामाजिक संघसंस्था, व्यवसायी तथा आम नागरिकले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिए ।
‘संकटको बेला साथ र सहयोगको भावना नै हाम्रो पहिचान हो,’ उनले भने ।
मानवीय सेवाका गतिविधिमा सक्रिय रहँदै आएको श्री महावीर युवा कमिटीले आगामी दिनमा समेत आवश्यकता र परिस्थितिअनुसार सामाजिक तथा मानवीय सहयोगलाई निरन्तरता दिने जनाएको छ ।
कमिटीले ‘मानव सेवा नै हाम्रो धर्म’ भन्ने भावनाका साथ विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाएको छ ।




