धनुषा । मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन मधेस प्रदेश सरकारले सम्बन्धित निकायबीच समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धतासहित अग्रसरता जनाएको छ।
छैटौँ राष्ट्रिय कार्ययोजना २०८३/८४–२०८७/८८ का प्रावधानबारे जानकारी गराउँदै कार्यान्वयनका लागि प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने विषयमा ०८३ भदौ १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशका संयोजक राजु पासवान, प्रलेख अधिकृत ममता विश्वकर्मा र इन्सेक धनुषा प्रतिनिधि सन्तोष कुमार यादवको टोलीले मुख्यमन्त्री कृष्णप्रसाद यादव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव पार्वती शर्मा र कानुन सचिव नुतन झासँग भेट गरी कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सरकारको भूमिका तथा आगामी कार्यक्रमका विषयमा छलफल गरेको थियो।



सो अवसरमा इन्सेकद्वारा कार्ययोजनासम्बन्धी पुस्तकसमेत हस्तान्तरण गरियो। मुख्यमन्त्री यादवले मानव अधिकारका विषयलाई प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो। उहाँले छैटौँ राष्ट्रिय कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयका सचिवहरूसँग छलफल गरी आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी प्रदेश सचिव पार्वती शर्मा र कानुन सचिव नुतन झाले पनि कार्ययोजनाको अध्ययन गरी कार्यान्वयनका लागि सकारात्मक पहल गर्ने बताउनुभयो। मानव अधिकारको क्षेत्रमा लामो समयदेखि कार्यरत इन्सेकसँग सहकार्य गर्दै कार्ययोजनालाई प्रभावकारी बनाउन सकिने उहाँहरूको भनाइ थियो। कार्ययोजना कार्यान्वयनका लागि सम्बन्धित निकाय तथा कार्यालय प्रमुखहरूसँग समन्वय गरी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत अघि बढाइने उहाँहरूले बताउनुभयो।




